२०८३ असार १४, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले उठाएका सवाल र मुद्धाहरुलाई अहिले पनि वेवास्था हुने गरेको गुनासो यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले गरेकाछन् । शुक्रबार झापाको दमकमा भएको यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको तीज विशेष कार्यक्रममा सहभागिहरुले यस्तो गुनासो गरेकाहुन् ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको हकहितमा दमकमा कार्यालय स्थापना गरेर एक दशक अघिदेखि लागेकी अधिकारकर्मी एवं कार्यक्रम संयोजक चञ्चला सुब्बाका अनुसार आफुहरुले बारम्बार रुपमा बसपार्क लगायतका बढि जमघट हुने क्षेत्रका सार्वजनिक शौचालयहरुमा अन्य अर्थात पुरुष र महिला बाहेकका लागि नि ब्यवस्थापन गर्नु पर्नै माग गरेको जनाउनु भयो ।

यौनिक तथा लैंगिक अल्पसंख्यकहरुका लागि सार्वजनिक शौचालयको माग गरेको पनि बर्षौ भएको छ तर अहिलेसम्म कसैले यसमा सुनुवाई गरेको छैन, उहाँले भन्नुभयो । हाम्रो अगाडि समस्या बुझेजस्तो गर्नुहुन्छ तर सम्बन्धित निकायका जिम्मेवार ब्याक्तिहरुले त्यसपछि वेवास्था गर्नुहुन्छ, उहाँको गुनासो थियो । संविधानले पहिचानका आधारमा नागरिकता उपलब्ध गराउनु पर्ने भनेता पनी नागरिकता पाउन पनि मुश्किल छ, उहाँले भन्नुभयो ।

तीज विशेष कार्यक्रममा बोल्दै दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रशाईले यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको समस्याहरुको बिषयमा आफ्नो ध्यानकर्षण भएको बताउदै समस्या सामधानका लागि आवश्यक पहल गर्ने बताउनु भयो । तपाइहरुको समस्याका बिषयमा छलफल गरेर आवश्यक कदम चाल्न म र नगरपालिका सधै तत्पर रहेको छ, उहाँको भनाई थियो ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय पनि यही समाजभित्रका सदस्य हुन भन्ने मान्यता अहिले पनि विकास नभएको अवस्था रहेको छ । मानव अधिकार आयोगको एक प्रतिवेदन अनुसार नेपालमा यौनिक तथा लैङ्गिक समुदाय एक अल्पसंख्यक समुदायको रुपमा रहेको छ । फरक लैङ्गिक पहिचान र यौनअभिमुखीकरणको कारणले यस समुदायका व्यक्तिहरू विभेदमा परिरहेका छन् ।

उक्त प्रतिवेदनमा उल्लेख भए अनुसार जैविक लिङ्गको आधारमा समाजले तोकिदिएको सामाजिक भूमिका भन्दा फरक भूमिकामा प्रस्तुत हुने व्यक्तिहरू तेस्रो लिङ्गी हुन् । तेस्रो लिङ्गी भन्ने शब्दले यी समुदायभित्रको विविधता समेट्न नसकेको हुँदा अहिले यस प्रकारको लैङ्गिकताको अवस्थालाई मान्यता दिँदै यौनिक तथा लैङ्गिक अल्पसंख्यक भनेर सम्बोधन गर्ने गरिएको छ ।