उदेक र अत्याशलाग्दो पुरानो बर्षको बिदाईसंगै नयाँ बर्षको स्वागत
विष्णुप्रसाद पोखरेल
मैले जे देखे त्यहि लेखेँ
दमक/ वास्तवमै बिक्रम सम्बत २०७९ साल धेरैका लागि सुखद बनेन । आर्थिक क्षेत्र चलयमान नबन्दा सर्वसाधरणको चुल्होसम्म यसको असर पुग्यो । आर्थिक रुपमा कालोबर्षको रुपमा नै २०७९ रहयो । बैंकको ब्याज दोब्बरसम्म बढ्यो तर आम्दानी आधाभन्दा बढि घट्यो । यस्तो अवस्थाबाट धेरै प्रताडित बन्नु पर्यो । स्थानीय, प्रदेश र संघीय सरकारको निर्वाचन भयो । यसले राजनीतिक स्थिरता र आर्थिक अवस्था मुलकको मजबुद बन्छ भन्ने नेपालीहरुको अपेक्षा थियो तर त्यो हुन सकेन ।
औधोगिक तथा ब्यवसायीक क्षेत्रमा क्रियाशिल धेरैका लागि गएको बर्ष कालोबर्षको रुपमा रहयो । जसले बैंकबाट कर्जा लिएर ब्यापार/ब्यवसाय गरेका थिए उनिहरुका लागि त यो बर्ष अत्यन्तै दुखद बन्यो । यो बर्ष त बर्बादै भयो, धेरैको मुखबाट यहि आवाज सुनियो । बैकबाट कर्जा लिएकाहरु धेरै नै पीडित बने । कतिले आर्थिक टचर सहन नसकेर ईच्छामरण रोजे । कतिले पलायन हुने बाटो रोजे र भागे । यहाँ राज्य छ भनेर अनुभुत गर्न सक्ने अवस्था रहेन । आपत/विपतमामा मेरा साथीभाई छन् भन्ने भरोसा भएन । स्वार्थ बोकेका र स्वार्थीहरुको भीड बढेको छ । सक्नेले नसक्नेलाई सहयोग गर्ने संस्कार देखिएन ।
कोभिडबाट तंग्रीन शुरु गरेको मानिसहरुको दैनिकी २०७९ मा सहज बन्न सकेन । चौतर्फी मूल्य बृद्धि भयो । मानिसहरुको आय बढेन । जसका कारण मानिसहरु मानसिक बिचलन पर्न थालेको देखिन्छ । आम्दानी घट्दो र खर्च बढ्दो रह्यो । यसले गत बितेको बर्ष धेरैका लागि दुखद छ । कसरी घर खर्च टार्ने र ब्यवसाय टिकाउने हो भन्ने चिन्ता छ, धेरैको भनाई यस्तै रहेको भेटेको छु । राजनीति सुध्रेला र देशको आर्थिक अवस्था पनि सुध्रेला भन्ने धेरैले अनुमान लगाएका थिए तर न राजनीति सुधियो न त देशको आर्थिक अवस्था नै सुध्रियो ।
समग्रमा मानिसहरुको दैनिक जिवनमा २०७९ असहज बर्ष बन्यो । हरेकलाई आफ्नो भविष्यको बिषयमा चिन्ता गर्न बाध्य बनाएको छ । आफ्नो ब्यापार ब्यवसायलाई कसरी पुर्नतालिकरण गर्ने तथा अब नयाँ रुपमा कसरी चल्ने भन्ने सिकाएको छ । जसै गरेर भएपनि बैकको कर्जालाई घटाउने र आम्दानी बढाउने उपाय खोज्न सोच्ने बनाएको छ । अप्ठेरोबाट पार पाउनका लागि आफ्नो सहरा आफै बाहेक कोहि हुन्न भन्ने अनुभुत गराएको छ । यसले गर्दा नयाँ बर्षमा सोच बिचार गरेर काम गर्नका लागि अभिप्रेरित हुने अवस्था आउन सक्छ ।
हो, पुरानो कालोबर्षबाट सिकेर अब नयाँ बर्षको स्वागत गरिएको छ । नयाँ बर्ष र नयाँ सोच राख्नु जरुरी छ । आशा र भरोसाले काम गर्ने उत्साह जोगाउछ । यसले गर्दा आशतित बन्नु पर्छ । निराशाले कमजोर बनाउने भएकाले २०७९ सालको भोगाईलाई सिकाईको रुपमा लिएर आगामि यात्रा तय गर्नुपर्छ । नयाँ साल अर्थात नयाँ बर्ष कसैका लागि पनि दुखद नबनोस् । सुखद् बनोस् । हरेकको दैनिक जीवनमा परिवर्तनकारी बर्ष बनोस् २०८०।
वितेका बर्षहरुमा भएका गल्ती, कमजोरीको समीक्षा गरेर नयाँ बर्षमा त्यस्ता गल्ती नदोहोर्याउने प्रण गरेर अघि बढ्न सक्ने अवस्था आओस । वितेका बर्षमा गरिएका कमजोरीलाई सच्याएर आगमी बर्षमा कुनै ठोस उपलब्धी हासिल गर्ने सोंच पलाओस शुभकामना ।
आफ्नो दिनचर्या सन्तुलित र सक्रिय बनाउन सकियोस । समग्र जीवनको निर्धारण नै हाम्रो दिनचर्यामा निर्भर रहने देखिन्छ । खराब दिनचर्या अंगालेका छौ भने, जीवन खराब मोडमा नै पुग्छ । दिनचर्या सही र सन्तुलित छ भने हामीले चाहे जस्तो नतिजा एवं उपलब्धी हासिल गर्न सक्छौ । दिनचर्या भनेको तपाईं बिहान उठ्नेदेखि राती सुत्नेसम्मका सबै कर्महरु समेटिन्छन् ।

