लुटन सके लुट, दमकमा नै हो छुट ! निशुल्क भनेको सार्वजनिक शौचालयमा एक पटक शौचालय जाँदा १० रुपियासम्म असुली
विष्णुप्रसाद पोखरेल
दमक/ सार्वजनिक शौचालय किन बनाइन्छ ? वास्तवमै सार्वजनिक उपयोगका लागि बनाईएको हुन्छ । तर स्थानीय सरकारले यसलाई कमाउने माध्यम बनाउछ भन्ने अचम्म लाग्ला । दमकमा पनि यस्तै भएको छ । अझ नगर सभाले निशुल्क भनेर निर्णय गर्दा समेत कार्यन्वयनमा आउन सकेको छैन ।
दमकमा सार्वजनिक शौचालय निशुल्क भन्ने दमक नगर सभाले सर्वसम्मत निर्णय गर्यो । वाहवाह पनि पायो । तर अहिले पनि पिसाव गरेको ५ र दिशा गरेको १० रुपिया तिर्नु पर्छ । सर्वसम्मत रुपमा भएको नगर सभाको निर्णय नै कार्यन्वयन छैन । अझ रोचक त के छ भने ठेक्का नलगाएको दमक बसपार्कको नयाँ शौचालयमा समेत पैसा उठाउदा दमक नगरपालिका बेखबर जस्तै छ । मौन छ । लुट न सके लुट…. भन्ने गीत झै भएको देखिन्छ ।
बसपार्कमा आउने कसैलाई दिशापिसावले च्याप्यो र गोजीमा पैसा छैन भने उनिहरु सार्वजनिक शौचालय जान सक्ने अवस्था छैन । नगरको सरसफाइको बिषयमा भाषण गरेर र आफुलाई वातवरणमैत्री भनेर नथाक्ने जनप्रतिनिधिहरुलाई यो अवस्था बुझ्न फुर्सद छैन भन्ने गुनासो धेरेको रहेको छ ।
दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराई प्रशाईका अनुसार सार्वजनिक शौचालय ३ बर्षका लागि अगाडि नै ठेक्का लगाईएको र त्यो ठेक्का रद्ध गरेर रकम फिर्ता दिन नसकिने कानूनी अवस्था रहेकाले कार्यन्वयन गर्न सकिएन । राजश्वमा जम्मा भएको रकम फिर्ता दिन नमिल्ने रहेछ, उनको भनाई रहेको छ । लोकप्रीयताका लागि निर्णय गरेको र पछि कार्यन्वयन नभएको धेरै नगरबासीलाई यसबाट भान भएको छ ।
ठेक्का नै नलागेको सार्वजनिक शौचालयको पनि पैसा उठाइरहेको बिषयमा आफुलाई थाहा नभएको र बुझ्ने उनले बताइन् । एउटाको ठेक्का लिएर दुईवटा सार्वजनिक शौचालयको रकम उठाउदा नगरपालिका तथा सरोकारवाला निकायहरु बेखबर रहेकाछन् ।
वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाले ठेक्का लगाएको शौचालयकोमात्र रकम उठाउदा त्यहि रहेको नयाँ शौचालयमा मात्र मान्छेहरु गइदिदा ठेक्का लिनेलाई अप्ठेरो पर्न सक्ने बताएकाछन् । सरसफाइ त गर्नुपर्यो र सरसफाइ गर्नका लागि नयाँमा पनि उठाएको होला, उनको भनाई छ । फेरी एउटामा उठाउने र अर्कोमा नउठाउने गर्दा नउठाउनेमा मात्र मान्छे जाने चिन्ता उनले देखाए ।


