झापामा भयो दुखद् घटना-वालक र बृद्धको खोलामा डुबेर मृत्यु
झापा। झापामा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक बालक र अर्का बृद्ध रहेका छन् । गौरादह नगरपालिका वडा नंं २ हाँसखोरा टोल निवासी १३ वर्षिय एन्जल ताजपुरियाको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको छ ।
बालक एन्जलको स्थानीय कृष्णे खोलामा पौडी खेल्नक्रममा शनिवार डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । गोविन्द ताजपुरियाका छोरा एन्जल ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । पौडी खेल्दाखेल्दै एन्जल बेपत्ता भएपछि उनीसंगै गएका अन्य ४ जना साथीहरु आत्तिदै नजिकैको गाउँतिर खबर गर्न गएका थिए । मृतक बालकको शव पोस्टमार्टमका लागि दमक लगिएको प्रहरीले जनाएको छ ।
त्यस्तै झापाको शिवसताक्षी १० स्थित कनकाई नदीमा शिवसताक्षी –८ का ९० वर्षीय टेक बहादुर श्रेष्ठको शव फेला परेको छ । कनकाई पुलदेखि करिब ७ सय मिटर दक्षिण पानीमा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । शनिबार साँझ ६ बजेतिर घाँस काट्न गएका महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

