२०८३ बैशाख ८, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । झापाको दमक वडा नं. ७ मा ४३ करोडभन्दा बढिको लागतमा दमक नगरपालिकाले बनाउन लागेको ‘दमक सपिङ्ग कम्प्लेस’ को शिलन्यास तथा निर्माणको काम शुरु नभई निर्माण ब्यवसायीले करिब २ करोड रुपिया लगिसकेको खुलेको छ ।

१३ औ नगर सभामा लेखा प्रतिवेदनमा काम नै शुरु नभइ यति ठुलो रकम निकासा भएको भन्दै निर्माण ब्यवसायीलाई छिटो काम गर्न लगाउनु पर्ने सुझाव दिएपछि यो बिषय बाहिर आएको हो । काम शुरु नै नभइ तथा शुरु हुने अवस्था नै नरहेको अवस्थामा ऋणको ठुलो रकम निर्माण ब्यवसायीलाई दिएको भन्दै नगर सभा सदस्यहरुले आपत्ती जनाउदै यो बिषय बाहिर ल्याएकाहुन् ।

नगर विकास कोष र दमक नगरपालिकाबीच ऋण सम्झौता बमोजिम दमक नगरपालिकाले आवश्यक प्रक्रिया पुगेपछि पुस २५ गते सपिङ्ग कम्प्लेस निर्माणका लागि नव सिर्जनशिल÷बंगालमुखी जेभि काठमण्डौबीच सम्झौता गरेको र भोलिपल्ट पनि १ करोड ९० लाख ४ हजार ४१० रुपिया मोबिलाइजेशन पेश्की भनेर लिएको खुलेको छ ।

दमक वडा नं ७ को सुनचाँदी लाइनमा निर्माण हुने दमक सपिङ्ग कम्प्लेक्स निर्माणको लागि बोलपत्र मुल्यांकनमा सिफारिस भई स्वीकृत भएको भएपनि काम शुरु नभएको नगरपालिकाका लेखा समितिले औल्याएपछि नगर सभाले थाहा पाएको भन्दै निर्माण ब्यवसायीबाट महिनौ बित्दा पनि काम शुरु नभएको गुनासो गर्दै आएकाछन् ।

नवसृजना/बंगलामुखी जे.भी.कन्स्ट्रक्सन कम्पनीलाई मोबिलाइजेशन रकम १ करोड ९० लाख भुक्तानी भएको पाइयो तर उक्त कम्पनीले हाल सम्म कुनै पनि निर्माण कार्य अघि नबढाएको हुँदा यथाशिघ्र निर्माण हुने वातावरण बनाई तोकिएको समयमै निर्माण कार्य सम्पन्न गर्न ध्यान पुर्याउनुपर्ने सुझाव राख्दछु, लेखा समिति संयोजक गोपालकृष्ण संग्रौलाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

दमक वडा नं. ६ का वडा सदस्य एवं नगर सभा सदस्य कमल श्रेष्ठका अनुसार काम नै नभइ झण्डै २ करोड रुपिया मोबिलाइजेसन रकम निकासा हुँदा ७ महिनामा नगरपालिकालाई ५ लाखभन्दा बढि ब्याजको ब्यभार भएको बताउनु भयो । एकातिर यत्रो रकम काम शुरु नभई गएको देखिन्छ भने अर्कोतर्फ नगरपालिकाले यो रकमको ब्याजमात्र ५ लाखभन्दा बढि तिर्नुपर्छ, उहाँले भन्नुभयो ।

दमक नगरपालिकाको सार्वजनिक जग्गामा रहेका सुकुम्बासीहरुलाई हटाएर यहाँ सपिङ्ग कम्प्लेस निर्माण गर्ने महत्वकाक्षी योजना नगरपालिकाले एक दशक अघि नै अघिसारेको थियो । बारम्बार सुकुम्बासीहरुको बसोबास हटाउन नसकेपछि समस्या हुँदै आएपनि पछिल्लो समयमा सुकुम्बासीको ब्यवस्थापन भइसकेको छ ।