२०८३ असार १०, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

मैले जे देखे त्यहि लेखेँ

दमक/ सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग(सँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ। प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सिमा भित्र बसोवास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसि हितका निम्ती आर्थिक कारोवार गर्न स्थापित गरिएको संस्था भन्ने बुझिन्छ। के यस्तै छ त अहिले ?

अ‍ैँचोपैँचो, अर्मपर्म, मर्दाको मलामी ज्यूँदाको जन्ती जस्ता कुराहरू सहकारीकै रुप हुन्।  तर यसरी सहकारी चलेकाछन् त ?  छैनन् बोरु अहिले त सहकारीले सदस्यलाई मर्न बाध्य बनाउने काम पो गर्न थालेकाछन् । सहकारी अहिले सहकारी नभएर अघोषित रुपमा बैंकको रुपमा परिणत भएकाछन् । नाफा कमाउनका लागि बसेका सिमित ब्याक्तिको पुहँचमात्र रहने बैंक तथा ब्यापारिक पसल बनेकाछन् । जसरि हुन्छ नाफा देखाउनु पर्ने, सहकारीका सञ्चालक र कर्मचारीले ॠणी सदस्यहरुलाई सहकारीको सदस्य रुपमा नभएर एउटा ॠणीको रुपमा ब्यवहार गर्दै मानसिक तनाव र दबाब सिर्जना गरिरहेकाछन् । सहकारीको सदस्यको अवस्था र  समस्यासंग सहकारीले सरोकार राख्दैन । पत्रिका नाम निकाल्नेदेखि लिएर सम्पती जफतसम्मको डर तथा धम्कि सहकारीका कर्मचारी र सञ्चालकले सहकारीको मालिक अर्थात सदस्यलाई दिइरहेकाछन्  । सहकारीमा पूँजीको हैन सदस्यको महत्त्व हुन्छ भनाइमा छ ब्यवहारमा छैन ।

झापाको प्रख्याती कमाएको एनएमसि सहकारीले सदस्यको खाताबाट ७ सय रुपिया काटेको बिषय बाहिर आएको छ । विमा जस्तै सदस्यको हितका लागि यो रकम झिकिएको भनिएको छ । सदस्यलाई नै थाहा नभएको बिषयमा रकम झिक्नु न्यायोचित र सहकारीको मर्म अनुसार होइन । धेरै सहकारीहरुले आफ्नो नाफा तथा कोषबाट तथा सदस्य बन्ने समयमा नै बुझाएर लिएको पनि पाएको र देखेको छु । यसरी अझ पैसा नदिनेलाई त्यो सेवा पाइदैन भनेर सहकारीका सञ्चालक तथा कर्मचारीले आफ्नै सदस्यलाई भनेर प्रतिक्रिया दिइरहेको हेरिरहेको छु । देखिरहेको छु । यसरी सहकारी भित्र सदस्यलाई बिभेद गर्ने कस्तो सहकारी संस्कार हो ? आर्थिक हैसियतको आधारमा बिभेद सहकारीबाट हुनु गम्भिर बिषय हो ।

सदस्यहरूलाई विभिन्न आयमूलक, सीपमूलक एवम् उत्पादनशील व्यवसाय सञ्चालन गर्ने रोजगारीका समान अवसरहरू प्रदान गरी उनीहरूको आर्थिक विकास गर्नु सहकरीको आर्थिक उद्देश्य हुनुपर्ने हो। सहकारी संस्थाले आफ्ना सदयहरूको आर्थिक विकासका लागि विभिन्न आर्थिक योजना तथा कार्यक्रमहरू सञ्चालन गरी त्यसमा उनीहरूलाई सहभागी गराउने गर्नुपर्छ। कुनै पनि सदस्यलाई जात-जाति, धर्म, लिङ्ग, वर्ण्रावर्ग, स्तर आदिको दृष्टिले भेदभाव नगरी समानरूपले आर्थिक कारोवार गर्ने, जस्तो (बचत गर्ने, ऋण लिने, नाफा प्राप्त गर्ने), व्यवसाय सञ्चालन गर्न क्रियाकलाप स्वतन्त्ररूपले सञ्चालन गर्न आर्थिक स्वतन्त्रता प्रदान गर्नु पनि सहकारीको प्रमुख आर्थिक उद्देश्य मानिन्छ।

सहकारीले समाजका पछडीएका महिला, दलित वर्ग वा व्यक्तिहरूलाई समेत आपसमा मिलेर बस्न, कुनै व्यवसाय गर्न र सहयोग गर्न प्रेरित गर्दछ । सहकारीले आफ्ना सदस्यहरूलाई सामुहिक रूपले कुनै पनि व्यवसाय गर्न मार्गदर्शन गर्ने हुनाले यसबाट समाजमा सामाजिक न्याय र समानताको वातवारण कायम हुन गई सामािजक विकासको गतिलाई टेवा पुग्दछ भन्ने हो तर यहाँ त सहकारीका सञ्चालक र कर्मचारीका लागि एउटा गतिलो कमाई खाने भाँडो र तिनै मालिक सदस्यहरुलाई प्रयोग गरेर सहकारीको बोर्ड बैंक चलाएर हैरानी दिएको देखिन्छ ।

ॠण खाएपछि समयमा ॠणको ब्याज तथा किस्ता सदस्यले हाल्नुपर्छ । जसो गरेपनि हुने भन्ने पक्कै होइन । एकजनाले गरेको बचतबाट नै अर्कोजनाले ॠण पाएको हुन्छ । यसर्थ बचतकर्ताको सुरक्षामा सदस्य ॠणीले पनि ख्याल गर्नुपर्छ । समयमा तिर्नुपर्छ । यदि आफुले समस्या भएको भए र तिर्न नसक्ने अवस्था आएको भए त्यो बिषयमा सहकारीको साधरणसभा तथा बैठकमा आएर त्यो कुरा राख्नुपर्छ र राख्ने अवसर पाउनु पर्छ । तिर्ने एउटा निश्चित भाका र आधार देखाउने सदस्यलाई जबरजस्ति गरिनु हुन्न । तिर्नै नसक्ने अवस्था छ र उ अप्ठेरोमा छ भने सहकारीका सबै सदस्यले उसलाई बचाउनु पर्ने दायित्व होइन ? सहकारीको मूल मर्म र उदेश्य यहि नै होइन र ?

उपलब्ध साधन स्रोतलाई सीमित वर्ग वा व्यक्ति विशेषमा मात्र एकत्रित हुन नदिई सबै वर्ग र व्यक्तिहरमा समानरूपले आर्थिक उपलब्धिहरूको वितरण गरी सदस्यहरूलाई सामाजिक न्याय दिलाउनु सहकारीको प्रमुख न्यायिक उद्देश्य हो । यस्तो न्यायोचित धनको वितरणबाट समाजका कमजोर एवम् विपन्न वर्गको एकातिर आर्थिक उत्थान हुन्छ भने अर्कोतिर उनीहरूले सामाजिक न्याय र समानता पाउँछन् भन्ने सहकारीको न्यायीक सिद्धान्त पनि छ । यो बिषयमा सहकारी चुकेको देखेको छु ।

बास्तवमा
-सहकारी समुदायले गर्ने व्यवसाय हो।
-शेयर सदस्यहरू सहकारीको स्वामी र ग्राहक दुबै हुन्छन्।
-सहकारीमा पूँजीको हैन सदस्यको महत्त्व हुन्छ।
-सहकारीले वित्तीय विकासका साथै सामाजिक विकास र वातावरण संरक्षणको दायित्व पनि निर्वाह गरेको हुन्छ।
-संस्थाका संस्थापक, संचालक तथा कर्मचारीहरू स्थानिय व्यक्ति नै हुन्छन् ।
-संस्थाले विनियमका साथै विभिन्न नीति नियमहरू तयार गरी त्यसैका आधारमा संस्थाका कार्यहरू सञ्चालन गरिएका हुन्छन् ।
-संस्थामा भएको रकमको निश्चित प्रतिशत संस्थामा तरलता राखि बाँकी रकम आफ्ना सदस्यहरूलाई नै ऋण लगानि गरिएको हुन्छ।
-संस्थापक र संचालकहरूको लगानि नाम मात्रको (अन्यन्त थोरै) नभई स्वभाविक हुन्छ।
-प्रजातान्त्रिक प्रणालिवाट चलेको तथा सहकारी भावना र सिद्धान्त बमोजिम अगाडि बढेको हुनपर्छ।
-संस्था सस्तो लोकप्रियतावाट नभई बलियो सामाजिक आधार भएको हुनुपर्छ।
-संस्थामा पर्याप्त शेयर पूँजि तथा अन्य कोष भएको हुनुपर्छ ।
-नियमानुसार सदस्यता प्राप्त व्यक्तिबाट मात्र वचत सङ्कलन गर्ने र सदस्य भएको केही समय पछि सदस्य भित्रमात्र ऋण लगानि गर्नुपर्ने हुन्छ।