स्थानीय दमक सरकार-होस् गरौ है ! भयाभह बन्न सक्छ डेंगु
विष्णुप्रसाद पोखरेल
मैले जे देखे त्यहि लेखेँ
दमक/ दमक सहित झापामा डेंगुको संक्रमण फैलन शुरु गरेको छ । विशेष गरेर डेंगुले शहरी क्षेत्रमा बढि संक्रमण हुने भएकाले चाँडो महामारीको रुप लिन सक्ने बताइन्छ । यसले गर्दा सबैले होशियारी अपनाउन जरुरी रहेको छ । डेंगु रोगको प्रभावकारी नियण्त्रणका लागि स्थानीय सरकारले समयमा कदम नचाल्ने हो भने यसले ठुलो महामारी निम्तन सक्छ ।
डेंगु रोग एक प्रजातिको लामखुट्टेको टोकाइबाट हुने सरुवा रोग हो। यो रोग एडिज एजिप्टाई र एडिज अल्वोपिक्ट्स जातको पोथी लामखुट्टेबाट सर्छ, जसले दिउँसो मात्र टोक्छ। डेंगु रोग डेंगु भाइरसका कारणले हुनेगर्छ। विशेषज्ञहरुका अनुसार हालसम्म डेंगु रोगको लागि कुनै विशेष औषधि बनिसकेको छैन। यद्यपि डेंगु रोगले ग्रस्त पारेर सिकिस्त बनाइसकेको बिरामीको लागि भने विविध उपचार गरिन्छ। यसर्थ यस बिषयमा अस्पतालहरु र स्वयं विरामीहरु पनि धेरै नै सचेत बन्न आवश्यक छ ।
दमकमा बुधबार डेंगु रोगको बिषयमा एउटा छलफल चलिरहदा स्वास्थ्य शाखाको प्रतिवेदन र जानकारीमा डेंगु खासै महामारीको रुपमा फैलिएको छैन भन्ने आयो । त्यहि कार्यक्रममा स्वास्थ्य कार्यालय झापाले तत्कालको विवरण भन्दै एकैसाथ आज मात्र २७ जनाभन्दा बढि डेंगुको विरामी दमकका अस्पतालमा रहेको भनेपछि सबै छक्क परे । अझ वडा नं. ६ का वडाध्यक्ष टेकबहादुर थापाले आफ्नै घरमा ६ जना विरामी रहेको भनेपछि स्वास्थ्य शाखाले संकलन गर्ने गरेको रिर्पोट कस्तो रहेछ भन्ने स्पष्ट भएको छ ।
दमकमा महामारीको रुपमा फैलन सक्ने खतरा रेहको डेंगु नियण्त्रणका लागि शंकाश्पद विरामीहरुको परिक्षण आवश्यक रहेको छ । क्लिनिक तथा बाहिर अस्पतालमा डेंगु जाँच गर्दा महगो अर्थात १ हजारदेखि १५ सय रुपियासम्म न्यूनतम तिर्नु पर्ने अवस्था छ । सस्तोमा पाइने किटको महगो मूल्य लिने गरेको समेत बताइन्छ । यसर्थ यस बिषयमा स्थानीय दमक सरकार र दमक नगरपालिकाको स्वास्थ्य शाखा गम्भिर बन्नु पर्दछ ।
सरकारी तवरमा डेंगु जाँच कहाँ हुन्छ ? निशुल्क गर्ने ब्यवस्था छ या छइन यसको जवाफ दमक नगरपालिकाको स्वास्थ्य शाखासंग छैन । यद्यपी दमक नगरपालिका प्रमुख रामकुमार थापाले दमकको सरकारी दमक अस्पतालमा कम्तिमा १० बेड अति विपन्न विरामीका लागि छुट्याईएको बताए । उनले आवश्यक परे अन्य ब्यवस्था पनि गर्न सकिने जनाए ।
शंकाश्पद डेंगुका विरामीहरुको निशुल्क जाँच र उपचारको ब्यवस्थापनमा नगरपालिका/ गाँउपालिका अर्थात स्थानीय सरकारचुक्नु हुँदैन । यहाँका अस्पतालहरुले पनि यस्तो अवस्थामा पैसा कमाउने भन्दा पनि यस प्रकारका महामारीलाई रोक्नका लागि आफ्नो भूमिका प्रभावकारी बनाउनु पर्दछ । गुणस्तरीय किटहरुको ब्यवस्थापन गरेर सर्वसुलभ रुपमा डेंगु जाँचलाई अघि बढाउनु पर्दछ । यसमा दमक नगरपालिका अर्थात स्थानीय सरकार र जनप्रतिनिधि गम्भिर बन्नुपर्दछ ।
विशेषज्ञहरुका अनुसार गम्भीर बिरामीलाई अस्पातलमा राखेर फ्लुड हाइड्रेसन, ब्लड ट्रान्सफ्युजन, प्लेटलेट्स ट्रान्सफ्युजन, ब्लड प्रेसर सपोर्ट तथा अन्य इन्टेन्सिभ केयरको आवश्यकता पर्नसक्छ। १० वर्षभन्दा कम उमेर समूहका बाल बालिकाहरुमा यो रोग सर्ने प्रबल सम्भावना हुन्छ। यो रोगको कारण ६ देखि ३० प्रतिशतसम्म बालबालिकाको मृत्यु दर रहेको छ। एक वर्षभन्दा कम उमेरका बालबालिकाहरुलाई डेंगु रोग लागेको खण्डमा मृत्यु हुने सम्वाभना बढी हुन्छ।
डेंगु रोगले संक्रमित व्यक्तिमा रुघाखोकी र तीब्र ज्वरो आउने, जाडो हुँदै ज्वरो आउने, टाउको दुख्ने, मुटुको धड्कन कम हुने, आँखा रातो हुने, अनुहार गुलाबी देखिने, खल्खली पसिना आउने, आँखामा दुखाइ हुने, जोर्नीहरुमा दुखाइ हुने, बान्ता हुने, रिङ्गटा लाग्ने, श्वास फेर्न अफ्ठ्यारो हुने, पेट दुख्ने, शरीर सुन्निने, छालामा राता बिमिराहरु देखिने, शरीरका अंगहरुबाट रक्तश्राव हुने, (विशेषगरी नाक, मुख र मांसपेसी – डेंगु हेमोरेज फेबर), पिसाब रातो आउने, दिसा कालो हुने, बेहोस् हुने, ब्लड प्रेसर कम (लो) हुने, रगतमा हुने प्लेटलेट्सको मात्रा कम भई शरीरका विभिन्न अंगहरुमा रक्तसंचार सूचारु रुपले हुन नसक्ने जस्ता लक्षणहरु हुने गर्छन्।
डेंगीबाट बच्ने उपायहरू:
- एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ।
- आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने । पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ।
- घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
- बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने
- पूरै शरिर ढाक्ने लुगा लगाउने ।
- पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राखौं । साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गरौं ।
- काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ।
- घर/विधालयको अध्याँरा कुना–काप्चा, जस्तैः पर्दा पछाडी, खाटमुनि, शौचालय भित्र, डेस्क/बेन्च मुनि आदि जस्ता ठाउँहरुमा किटनाशक औषधि छर्कने गरौं ।
- कम्तिमा हप्ताको एक पटक ऐर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गरौं ।
डेंगीका लक्षणहरू देखिएमा के गर्ने ?
- स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह लिने ।
- घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जीउ दुखेको कम गर्नकोलागी प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधीको सेवन नगर्ने ।
- अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरुन्त भर्ना हुने ।
(चिकित्सकको सल्लाह नलिईकन कुनै पनि औषधी सेवन नगर्ने )


