२०८३ बैशाख ८, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/  विश्व आदिबासी दिवसको अवसरमा साउन २४ गते कोशी प्रदेशमा सार्वजनिक विदा हुने भएको छ । कोशी प्रदेश सरकारले २०७९ साल चैत १ गते राजपत्र जारी गरेर यो विदा सहित अन्य विदाहरु सार्वजनिक गरेको थियो ।

यो दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा नेपाल सहित विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि  पर्वको रूपमा मनाउँदै आइरहेका छन् ।

यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्व भूमण्डलीकरण, आधुनिकीकरण, निजीकरण, बजारमुखी उत्पादन प्रणाली, वातावरणीय ह्रासबाट विश्वभरिका आदिवासी जनजातिहरूका सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौतिक जीवनमा परेका प्रतिकूल असरबाट उनीहरूलाई बचाउनु, उनीहरूका विकास गर्नु र अधिकार तथा भाषा संस्कृतिको संरक्षण/संवर्द्धन गर्नु होे ।

सामाजिक अगुवा तथा आदिबासी नेता प्रविण चाम्लिङ अनुसार आदिबासी दिवसलाई वास्तविक आदिबासीहरुको पर्वको रुपमा मनाउनुभन्दा पनि राजनीतिक रंग र स्वार्थपरक रुपमा मनाउने कार्यले वास्तविक आदिबासीहरुको मुद्धाहरु ओझेलमा पर्दै आएको छ । यो सबै आदिबासीहरुले आफ्नो महान् पर्वको रुपमा मनाउने अवस्था ल्याउन सके यसको सार्थकता रहन्छ, उनले भने ।

वर्ष सन् २०२३ को अन्तर्राष्ट्रिय आदिवासी दिवसको नारा
‘Indigenous Youth as Agents of Change for Self-determination’.
आफूले निर्धारण गरे अनुरुपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने अर्थ लाग्दछ । आदिवासी युवाहरूको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको छ ।

‘आदि’ भनेको धेरै पुरानो अथवा पुरानो ऐतिहासिक समयदेखि भन्ने बुझाउँछ, यसर्थमा कुनै पनि ठाउँमा धेरै पुरानो समयदेखि बसोवास गरिरहेका र त्यस भूमिको माटोलाई खनिखोस्री गरेर आफ्नो पुस्ता धानिरहेका कलाकौशल र हस्तकला लगायत थुप्रै मौलिक पहिचान भएका समुदायलाई आदिवासी भनिन्छ ।

मानव सभ्यताको विकाससँगै बसाई-सराइको क्रम सुरु भएपछि क्रमशः आप्रवासीहरूको घनत्व बढ्न गई उनीहरूको पहिचान, अस्तित्व, फरक गुण अनि रीतिहरूमा कमी आउन थालेको छ । विश्वको कूल जनसङ्ख्याको ५ प्रतिशत रहेका आदिवासीहरूले विश्वको कूल गरिब जनसङ्ख्याको १५ प्रतिशत भाग ओगटेका छन् । पृथ्वीको ध्रुवीय क्षेत्रदेखि दक्षिण प्रशान्त किनारसम्म रहेका आदिवासीहरूको पहिचान र उपस्थिति घट्दो क्रममा छ किनकि पछि बसोबास गरेर आएका आप्रवासी समुदायहरू पेसा, पहिचान, बसाई लगायतका विविध कारणहरूले हाबी हुँदै आएका छन् ।