राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २४ औं बार्षिक साधारण सभा, नयाँ समिति चयन
दमक/ दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको २४ औं बार्षिक चुनावी साधारण सभा आगामी चार बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्दै बुधबार सम्पन्न भएको छ ।
दमक ५ स्थित रोयल पाटी प्यालेसमा संस्थाका अध्यक्ष धनराज राईको अध्यक्षता र ज्येष्ठ शेयर सदस्य बुद्धिबहादुर (बीबी)राईको प्रमुख आतिथ्यमा भएको साधारण सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्ष राईले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष राईले देशभरका अन्य संस्थाहरुको अवस्था यो सहकारीमा नरहेको उल्लेख गर्दै आर्थिक मन्दिका कारण कुनै पनि बचतकर्ताको रकम संस्थामा नरोकिएको बताए । उनले सहकारीको मुल्य मान्यता र सिद्धान्तमा आधारित रहेर संस्थाले कार्यसम्पादन गर्ने सिलसिलामा कतिपय नयाँ थप कार्यक्रमहरु कार्यन्वयन गर्न नसकिए पनि संस्थाका सदस्यहरुको कुनैपनि किसिमको निक्षेप रकम भुक्तानीमा भने कुनै समस्या नरहेको स्पष्ट पारे । सदस्यहरुको विश्वास , साथ र सहयोगका कारण संस्था निरन्तर रुपमा अघि बढेको उनको भनाई थियो ।
सभामा लेखा समिति संयोजक मणिराज राईले लेखा समितिका तर्फबाट र प्रमुख कार्यकारी अधिकृत लिलाराज तुम्बापोले लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए । सो अवसरमा उत्कृष्ट कारोबारी शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । सभामा संस्थाका संस्थापक अध्यक्ष जितमान राई, प्याव्सन झापाका अध्यक्ष गौरीमान फागो, सप्तरङगी एफएमका अध्यक्ष मेहेरमान लिङदेन लगायतको विशेष आतिथ्य रहेको थियो । सभाको सञ्चालक संस्थाका सचिव कृष्ण गोलेले गरेका थिए ।
सञ्चालक समिति निर्विरोध चयन
यसैबीच सो संस्थाका लक्षुदास (एलडी) राईको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित भएको छ । निर्वाचन समितिले ८ असोजमा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेपनि निर्वाचितहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण आज मात्रै गराइएको हो । निर्वाचन समितिका संयोजक पारसमणी आचार्यका अनुसार संस्थाको सञ्चालक समिति उपाध्यक्षमा कृष्ण गोले, सचिवमा दिपेनवाला राई, सहसचिव फुलसरी मगर र कोषाध्यक्षमा टंक दुलाल निर्विरोध निर्वाचित भएका छन ।
त्यस्नै सञ्चालक समिति सदस्यहरुमा यज्ञराज आङदेम्बे सुब्बा, पारसमणी राई, पदमबहादुर तामाङ, हरिमाया कन्दङवा, राजेन्द्रकुमार लिम्बु र बासुदेव राई निर्वाचित भएका छन । त्यसैगरी संस्थाको लेखा समिति संयोजकमा सुरेन्द्र लिम्बु, यमुना भट्टराई र ज्ञानदिप राई चुनिएका निर्वाचन समितिले जनाएको छ ।
लामो समय सम्म जितमान राईले नेतृत्व गर्दै आएको सो संस्थाका विभिन्न कोषहरुको अवस्था समेत राम्रो रहेका कारण यो संस्था बलियो रहेको मानिन्छ ।

