२०८३ बैशाख ४, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । भूटानी शरणार्थीहरुको स्वदेश फिर्ति अभियानमा लाग्नु भएका भुटानी नेता एवं भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौड्यालले आफुहरु नक्कली वा सक्कली नभएर वास्तविक भुटानी शरणार्थी रहेको बताउनु भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण एउटा लज्जित बिषय भएको भन्दै पौड्यालले आफुहरु खाट्टी भुटानी रहेको जनाउनु भयो । हामी भुटानी हौ र हाम्रो भुटानप्रति गर्व गर्छौ, उहाँले भन्नुभयो । हामी नक्कली वा सक्कली भुटानी शरणार्थी होइनौ वास्तविक भुटानी शरणार्थी हौ, पौड्यालको भनाई थियो ।

भुटानी शरणार्थी शिविर बेलडाँगीमा भएको एक कार्यत्रलममा बोल्दै उहाँले आफुहरु अमेरिका वा अन्य सुविधासम्पन्न देशमा जान चाहेको नभएर आफ्नै स्वदेश भुटानमा जान चाहेको स्पष्ट पार्नु भयो । हामीलाई हाम्रो देश जान चाहान्छौ, स्वदेश फर्कन आतुर रहेका छौ, उहाँले भन्नुभयो ।

भुटानी शरणार्थीका स्वदेश फिर्तिको मुद्धा पछिल्लो समयमा कमजोर बन्दै गएको अवस्था छ । त्यस्तो अवस्थामा पौड्यालले स्वदेश फिर्तिको माग जोडतोडका साथ उठाउदै आउनु भएको छ । तेश्रो देश पुर्नबासको काम सकिएता पनि अर्को महत्वपुर्ण बिकल्प स्वदेश फिर्तिको ढोका भने खुला भएको छैन ।

स्वदेश फर्कने वातवरण त बनाउनै पर्छ, पौड्यालले भन्दै आउनु भएको छ । भुटानको जेलमा रहेकाहरुको रिहाईको माग समेत पौड्यालले बारम्बार गर्दै आउनु भएको छ । केही समय अघि भुटानका राजालाई पत्र लेखेर नै उहाँले यस्तो माग गर्नु भएको थियो ।