२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

मैले जे देखेँ त्यहीँ लेखे

दमक/ झापाको दमकमा ‘लागु औषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान’ शुरु भएको छ । यो नगरपालिकाको अगुवाईमा भएको एउटा राम्रो अभियान हो । भित्रभित्रै लागुऔषध प्रयोगले समाजलाई गम्भिर रुपमा असर गरिरहेको छ । बालबालिकादेखि लिएर युवाहरु यसको लतमा फस्ने क्रम बढ्दो अवस्थामा रहेको छ । यसले सामाजिक अपराध तथा चोरीका घटनाहरु पनि भइरहेकाछन् ।

कहिले पसल फोरिने त कहिले मोवायल चोरी हुने, साइकल चोरी गर्ने जस्ता कार्यमा प्रायजसो लागुऔषध प्रयोगकर्ताहरुको संंलग्नता भेटिन्छ । प्रहरीको भनाईलाई आधार मान्ने हो भने पनि लागुऔषध प्रयोगकर्ताहरुलाई ल्याउने हो भने प्रहरी कार्यालय भित्रको हिरासतले भ्याउदैन । लागुऔषधको कारोबार र प्रयोग दुबै नियण्त्रणका लागि समुदायको सहयोग अपरिहार्य छ । दमक नगरपालिकाले शुरु गरेको अभियान यस अर्थमा महत्वपूर्ण छ । विकास निर्माणमात्र विकास होइन ।

लागुऔषध प्रयोग गर्नु राम्रो होइन र गर्ने पनि ब्याक्ति पनि राम्रो होइन । उ कुनै न कुनै रुपमा वा कसैको प्रभावमा लागुऔषधमा फसेको हुनसक्छ । यसर्थ उसलाई सही बाटोमा ल्याउन र लागुऔषध प्रयोगले पार्ने असरको बिषयमा जानकारी दिनु आवश्यक छ । यसमा स्थानीय सरकार तथा समुदायले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । दमकले पनि सायद यहि सोचेर नै महत्वका साथ यो कार्यक्रम ल्याएको हुनसक्छ । यो कार्यक्रम नगरपालिकाको नभएर समुदायको कार्यक्रमको रुपमा सबैले बुझ्दा राम्रो हुन्छ जस्तो लाग्छ ।

पछिल्लो समयमा दमक होस् या आसपासका क्षेत्रहरुमा औषधि जन्य लागु पदार्थको प्रयोग र सिरिन्जबाट औषधि जन्य लागु पदार्थ लिने कार्य बढेको देखिन्छ । स्कुले तथा कलेजका बिद्यार्थी विशेष गरेर टिनएज उमेर समुहका बालबालिकाहरु कुलतमा फसिरहेकाछन् । स्कूल तथा कलेजको आसपास तथा शौचालयमा गएर हेर्ने हो भने समेत औषधि जन्य लागु पदार्थ (औषधिका खोल तथा बट्टा ) र सिरिन्ज पाइन्छ । रतुवा खोलाको बगर तथा एकान्त किसिमका झाडिहरुमा जानु हो भने त्यहाँ खुट्टा राख्ने ठाँउ हुन्न । यस्तो विकराल अवस्थामा समाज जादैछ ।

दमकको एक फार्मेसी अगाडि म करिब आधा घण्टा उभिरहदा ४ जना टिएनएज आएर सिरिन्ज र औषधि लिएर गए । यसमा १ जना किशोरी रहेकी थिइन् । त्यहाँ कुनै प्रेप्किप्सन खोजिदैन रहेछ । ओल्टोकोल्टो र यताउता हेरेर दिइने रहेछ । सबै उस्तै छैनन् । आफ्नो आचारसंहिता पनि पालना गरेकाहोलान । नियम कानून पालना गरेका पनि होलान तरकतिपय फार्मेसीहरुले गलत गरिरहेकाछन् । औषधिजन्य लागुऔषध विक्री गर्ने माध्यम बनेकाछन् । भारतबाट यस्तो औषधि ल्याउने केरियरहरुको दमकमा बिगबिगि नै रहेको छ । (औषधि जन्य लागु पदार्थः– मानव जीवन रक्षाको लागि निर्मित औषधिजन्य पदार्थहरू जसलाई चिकित्सकको सल्लाह विपरित नशा लिनको लागि प्रयोग गर्दछन् त्यसलाई औषधिजन्य लागु पदार्थ भनिन्छ । जस्तैः- नाइट्रोसन, नाइट्रोभ्याट, प्रोक्सीभोन,, नोर्फिन, कोडिन, कोरेक्स, फेन्सीडिल, फेनकोडिन नो–कफ आदि ।)

औषधि पसल अर्थात फार्मेसीमा औषधि जन्य लागु पदार्थ सहज उपलब्धताले बिकृती ल्याएको छ । कतिपय फार्मेसीहरु यसैका लागि खुलेकाछन् भन्दा फरक नपर्ला । दमकका केही फार्मेसीहरुमा अनुगमन हुँदा केही समय पहिलो यस्ता लागुऔषधको रुपमा प्रयोग हुने औषधि धेरै नै भेटिएको थियो । सिरिन्ज र लागुऔषधजन्य औषधि बिक्री गर्ने फार्मेसीहरुको पहिचान गरेर त्यस्ता फार्मेसी सञ्चालकलाई कार्वाही र बन्द नगरेसम्म लागुऔषको प्रयोग न्यूनिकरण नहुन सक्छ । यसमा चासो जानु पर्छ ।

मलाई सम्झना छ दमकका तीनवटा फार्मेसीहरुमा यस प्रकारका औषधि जन्य लागु पदार्थ ठुलो परिमाण सहित केही बर्ष अघि कार्वाही चलाईएको थियो । पछि त्यो यसै ढिसमिस भयो । त्यसपछि भने यस प्रकारले अनुगमन भएको छैन । औषधि पसलहरु खुल्ने क्रम भने बढेको बढ्यै छ । यस बिषयमा चनाखो हुन आवश्यक छ । केही बर्ष अघि फार्मेसीहरुलाई बोलाएर प्रहरीले औषधि दिएको लकबुक राख्न समेत भनेको मैले देखेको थिए तर अहिले त्यस्तो छैन ।

गृह मन्त्रलायको वेभसाइटमा हेर्ने हो भने औषधिजन्य लागु पदार्थहरुको बिषयमा पनि उल्लेख भएको छ । नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण 2076 का अनुसार नेपालमा 1,30,424 जना लागु औषध प्रयोगकर्ता रहेको देखिन्छ। यस अघि 2069 मा गरिएको सर्वेक्षणमा 91,534 जना प्रयोगकर्ता थिए। 2076 को सर्वेक्षण प्रतिवेदन अनुसार लागु औषध प्रयोगकर्ताको वार्षिक वृद्धिदर 5.06 प्रतिशत रहेको छ।

नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण 2076 का अनुसार लागु ‍औषध प्रयोगकर्ताले लागु औषध प्राप्तिका श्रोतहरू देहाय बमोजिम रहेका छन्

प्राप्तिको श्रोत                 प्रतिशत

साथिसंगी                      67.7

डुलन्ते विक्रेता               14.1

औषधी पसल                  8.4

अन्य पसल                     7.2

इन्टरनेटको माध्यम          2.5

अन्य                            0.4