२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ वर्ष अगाडि

दमक/ झापाको दमक ७ बराह टोल लेखनाथ मार्गमा नवनिर्मित पौड्याल वंशोद्धार केन्द्रिय समितिको नवनिर्मित भवन परिसरमा सप्ताहव्यापी श्रीमद भागवत बराह महापुराण तथा धनधान्याञ्चल महायज्ञ शुरु भएको छ ।

महायज्ञको पूर्वसन्ध्यामा पौडेल बन्धुहरु र विभिन्न सामाजिक संघ संस्थाहरुको सहभागितामा नौमती बाजासहितको शोभायात्रा निकालिएको छ । महायज्ञस्थलबाट शुरु भएको शोभा यात्रा, बसपार्क, दमक चोक, बेलडाँगी रोड, नगरपालिका रोड हुँदै पुनः सोही ठाउँमा आइपुगेको थियो ।

शोभायात्राको पौडेल वंश महासंघ केन्द्रिय अध्यक्ष लोकनाथ पौड्याल, प्रमुख कथावाचक आचार्य पण्डीत शान्तिराम नेपाल, वंशोद्धार केन्द्रिय समितिका पूर्व अध्यक्ष तथा दमक ७ का वडाध्यक्ष भिमप्रसाद पौडेल, केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष प्रल्हाद पौड्याल, उपाध्यक्षद्धय सुरेश पौडेल, मन्धरा पौडेल, महासचिव युवराज पौड्याल, कोषाध्यक्ष शशि पौडेल, कलश यात्रा संयोजक रामकुमारी पौडेल लगायत अग्रज बन्धुहरुले नेतृत्व गरेका थिए ।

शोभायात्रा बिसर्जनपछि दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य , उपप्रमुख रेगिना भट्टराई प्रसाइँ , पूर्व अञ्चलाधिश नन्दराम पौडेल र आचार्य पण्डीत शान्तिराम नेपालको विशेष आतिथ्यमा भएको कार्यक्रममा पौडेल बन्धुहरुका ज्येष्ठ अभिभावक १०१ बर्षिय लक्ष्मीप्रसाद पौड्यालले महायज्ञको उदघाटन गरेका थिए । त्यस्तै नगर प्रमुख थापाले नवनिर्मित पौडेल वंशोद्धार समितिको केन्द्रिय भवन तथा आत्रेय सदनको उदघाटन गरे । सो अवसरमा नगर प्रमुख थापाले सबै धर्मको मुल उद्धेश्य पुण्यकर्ममा लाग्नु र सभ्या समाज निर्माणमा योगदान गर्नु भएको उल्लेख गरे ।

प्रमुख थापाले पौडेल बन्धुहरुको संस्थाको स्वामित्वमा रहेको जग्गा तथा भवन, मन्दिर आदी नगरकै सम्पदा भएकाले त्यसको संरक्षण र बिकास नगरपालिकाको पनि उत्तिकै प्राथमिकताको बिषय बन्ने बताए । सामाजिक सेवाका क्षेत्रमा पौडेल बन्धुहरु सम्बद्ध विभिन्न संघ संस्थाहरुले गरिरहेको योगदान बारे चर्चा गर्दै अध्यक्ष पौड्यालले पुराण आयोजना पौड्याल बन्धुहरुले गरेता पनि यो दमकको र राष्ट्रकै लागि दिर्घकालिन महत्व र उद्धेश्य राख्ने पुराण भएकाले यसलाई सकारात्मक रुपमा यहाँको समाजले ग्रहण गर्नेमा आयोजक समिति विश्वस्त रहेको उल्लेख गरे ।

पौडेल वंशोद्धार दमक नगर समितिका अध्यक्ष बुद्धिमान पौडेलले जग्गादाता स्व. गंगाबहादुर पौड्यालको परिवारले १६ लाख ५० हजार रुपैयाँको लागतमा बनाएर पौड्याल वंशोद्धार समितिलाई हस्तान्तरण गरेको बराह मन्दिरको विधिपूर्वक १ पुषमा प्राण प्रतिष्ठा तथा अनावरण गरिने जानकारी दिए । त्यहाँ पुष ४ गते सम्म दैनिक रुपमा वराह महापुराणको पाठ पारायण एवं कथावाचन, सन्धयाकालिन आरती र भजन कर्तिन सञ्चालन हुने प्रचार प्रसार समितिका संयोजक कमल पौडेलले जानकारी दिए ।