२०८३ असार १०, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ पूर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली सहित शिर्ष नेताहरु सम्मिलीत पुष्पलाल मध्यपहाडी लोकमार्ग पदयात्रा (संकल्प यात्रा) को बिषयमा कोणहरुबाट बहस भईरहेको छ । विशेष गरेर कोशी प्रदेशमा यसले झनै ठूलो चर्चा पायो । आफुलाई पहिचानबादी बताउने समुहहरुले यसमा अवरोधको पनि कोसिस गरे । एमाले नेतृत्वमा नै कोशी प्रदेश नामकरण भएको झोंक यो यात्रामा पोख्ने प्रयास भएको देखियो ।

मानिसहरुमा आशा सिर्जना गर्न सक्ने र सपना बाँड्ने सक्ने खुवि ओलीमा रहेको छ । कतिपयले यस भनिरहदा अन्धभक्त र झोले पनि भन्न सक्छन् ।ओलीका हरेक भाषणहरु विकास निर्माण र जनजिविकासंग जोडिएकाहुन्छन् । किनकी आफूमात्र गतिलो, आफूले समर्थन गरेको ब्याक्तिमात्र महान् र आफ्ना तथा आफ्ना पक्षका माग मात्र गतिलो हो भन्ने सोच हरेकलाई हुन्छ । यो स्वभाविक पनि होला ।

सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय मुल नारा सहित ओलीको नेतृत्वमा भएको  ‘झुलाघाट–चिवा भञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएको यो अभियान यस क्षेत्रको पर्यटकीय विकास र प्रचारमा यो ठुलो माध्यम बनेको जस्तो मलाई लाग्छ । सरकारको नेतृत्व गरेका राजनीतिक दलका नेता तथा मन्त्रीहरु र सांसदहरु बिदेश भ्रमणमा गइरहेकाबेला स्वदेश भित्रको यस प्रकारको भ्रमण गर्ने ओलीको कदम पर्यटकीय हिसावले अतुलनीय छ भन्ने मलाई लाग्छ ।

यसले पहाडि तथा हिमाली जिल्लाको जनजिवन बुझ्न नेताहरुलाई सहयोग पुगेको छ । भोली नीति निर्माण बनाउदा यहाँका समस्याहरु झलझलिमा आँखामा आउछ । अर्को बिषय आफ्नै देश नघुमेकाहरुले मज्जाले घुम्न र हेर्न पाएकाछन् । यसले पर्यटकीय प्रवद्र्धनमा ठुलो फड्को मारेको छ । पहाडी भूभाग सामाजिक–सांस्कृतिक विविधतालाई बाहिर ल्याएको छ । जैविक विविधता, कृषि, पशुपालन, जलस्रोतको अवस्था सार्वजनिक भएको छ । राजनीतिक प्रचार एउटा कुरा होला तर त्यसले पारेको प्रभावलाई नजरअन्दाज गरिनु हुन्न ।

बैतडीको झुलाघाटमा नेपाली झण्डा झण्डोत्तोलन गरेर शुरु भएको यो यात्राले पुर्व मेचीको पाँचथरमा सकिनुले मेची देखि महाकालीलाई जोडेको छ । वास्तवमा नै स्थानीय मुद्धाहरु राष्ट्रिय मुद्धा बनेकाछन् । त्यहाँ पुगेका पत्रकारहरुले समचार लेखेकाछन् र लेख्छन् । त्यहाँ पुगेकाहरुले सामाजिक सञ्जालमा फोटो हालेकाछन् र हाल्छन् जसले गर्दा यो क्षेत्रको प्रवद्र्धनमा नयाँ आयाम हुनेछ । स्वयं ओलीले त्यस क्षेत्रका पहिचानहरुको बिषयमा प्रत्येक दिन स्टाटस हालेर आफ्नो आधिकारिक पेज मार्फत मानिसहरुलाई उक्त ठाँउमा जान लालयित बनाएकाछन् ।

ओलीले कोशी प्रवेस गर्ने बित्तिकै साकेला नाँचको दृश्य हाल्दै एउटा स्टाटस लेखे-सुदूरपश्चिमबाट कोशीसम्म आइपुग्दा हामीले यस्ता कयौं संस्कृति देख्यौं । यी सबै संस्कृतिहरुको एकता हाम्रो राष्ट्रियताको बल हो । 

तेह्थुमा आईपुगेपछि उनले लिम्बु नाँचको भिडियो राखेर स्टाटस लेखे- हाम्रो यात्रा आज तेह्रथुमको आठराईमा पुगेको छ। बाटोभरि यात्रीहरुले लिम्बू सांस्कृतिक नाच प्रस्तुत गर्नु भयो । तपाईंहरुलाई यो नाच कस्तो लाग्यो ?

म्याङलुङ पुगेर उनले स्टाटस लेखेकाछन- लिम्बू भाषामा बिरालोलाई म्याङ भनिन्छ भने ढुङ्गालाई लुङ भनिन्छ। यहाँ बिरालोको नङग्राले खोस्रेर बनेको ढुङ्गाको मूर्ति छ। त्यसैबाट यस ठाउँको नाम म्याङलुङ रह्यो

यो त केही चर्चामात्र हो । यसले यहाँको सस्कृतिक र पर्यटकीय पहिचानको स्तरबृद्धि गर्नका लागि टेवा पुग्छ भन्ने मेरो देखाइ हो । किनकी हाम्रा पर्यटकीय गन्तब्यस्थल र सास्कृतिक पहिचानको बिषयमा खास ध्यान राज्यको वा राज्य सञ्चालन गर्नेहरुको आँखामा पुग्या छैन । सडक सञ्जाल र भौतिक विकाससंगै यस प्रकारका सस्कृति तथा रितिरिवाजहरुको संरक्षण र सम्बद्र्धन, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसारसंगै ब्यवस्थापन गर्न आवश्यक छ ।