एशियन हाइवे निर्माणमा चरम लापरवाही ! बनाउन भन्दा भत्काउन हतारले सडक एम्बुस बन्ने खतरा

बिष्णुप्रसाद पोखरेल
मैले जे देखेँ त्यहि लेखे
दमक/ पूर्व–पश्चिम राजमार्ग (एशियन हाइवे) नेपालको मेरुदण्ड भनिने यो सडकले देशका कोटिकोटि सपना बोकेको छ। यो केवल सडक होइन, यो हाम्रो जनजीवनको सास हो, यात्राको भरोसा हो, जीवनको लय हो। तर, अहिले यो सडक विस्तारको नाममा पीडा, अन्याय र उपेक्षाको पर्याय बनेको छ। हिजोको जति बेला भए पनि गुड्न मिल्ने बाटो आजका दिनमा ‘विकास’ को बहानामा भत्किएको, हिलोले चिप्लिएको, धुलोले नदेखिने अनि डाइभर्सनले दुर्घटनाको कुहिरोमा हराएको छ।
जनता कर तिर्छन्, बाटोमा हिडछन् , अनि सास्ती भोग्छन्। लापरवाहीले दुर्घटनाको शिकार र रोगी बन्ने अवस्था छ तर जिम्मा लिने कोही छैन। राजमार्ग स्तरोन्नतिको नाममा अहिले जे भइरहेको छ, त्यो विकासको दृष्टान्त कम, दुर्घटनाको चेतावनी हो। सडक बनाउने काममा न समयको ख्याल छ, न यात्रुको सुरक्षाको। एकातिरको काम नसकी अर्कातिर भत्काइन्छ। हिलो, धुलो र डाइभर्सनको अव्यवस्थाले गर्दा सवारी चलाउन जोखिमपूर्ण छ। कहिले हिलोमा गाडी चिप्लिन्छ, कहिले धुलोले आँखा नदेखिने भएर लडिन्छ ।
सडक बिस्तार गर्ने काम सुखद र खुशिको कुरा हो , तर यात्रुको सुरक्षाको ख्याल नगरी गरिएको कामले त दुःख मात्रै दिइरहेको छ। सडक बनाउने र अनुगमन गर्ने निकाय, निर्माण कम्पनी, स्थानीय सरकार, ट्राफिक प्रहरी सबै चुप छन्। कोही बोल्दैन, जिम्मा लिँदैन। हामी जनताको माग धेरै छैन। बाटो बनाउँदा सुरक्षित बनाइयोस्। डाइभर्सन राम्रो होस्। सूचना दिइयोस्। अनि काम योजना बनाएर गरियोस्। एशियन हाइवे राम्रो होस् भन्ने सबैको चाहना हो।
अहिले हेर्दा र देख्दा सडक विस्तार भनेको ‘भत्काउने लहर’ जस्तो लाग्छ। जहाँ–जहाँ सडक बनिरहेको छ, त्यहाँ डाइभर्सन (अस्थायी बाटो) बनाइएको छ। तर ती डाइभर्सनहरू धेरैजसो अव्यवस्थित छन्। पानी परेपछि हिलो भएर खतरनाक हुन्छ, अनि घाम लागेपछि धुलो उडेर आँखा नै खुल्दैन। यस्तो डाइभर्सनमा सवारी चलाउन पनि गाह्रो छ, हिँड्न पनि डर लाग्छ। हामी सबैको चाहना एउटै हो, राम्रो बाटो बनोस्, तर बाँचेर यात्रा गर्न सकिने बाटो होस्।
सडकको एकातिर बनाउन नसक्दै अर्को तिर भत्काइने काम भइरहेको छ। कतिपय ठाउँमा त सवारी दुर्घटना पनि भइरहेका छन्। मोटरसाइकल चढ्नेहरू लड्ने, गाडीहरू ठोक्किने जस्ता घटना सामान्यजस्तै भएका छन्। तर यस्तो अवस्थामा सडक बनाउने निकायहरू, स्थानीय सरकार, प्रहरी सबै मौन छन्। कोही जिम्मेवारी लिन चाहँदैनन्।
विकास हुनु राम्रो कुरा हो, तर विकासले जनतालाई सास्ती दिनु हुँदैन। विकाससँगै सुरक्षाको पनि ख्याल राखिनु पर्छ। यात्रु र चालकका लागि सूचना बोर्ड, संकेत चिन्ह, ट्राफिक व्यवस्था, पानी छर्ने व्यवस्था (धुलो रोक्न) र डाइभर्सन राम्रोसँग मिलाउने काम अनिवार्य हुनुपर्छ।
निर्माण व्यवसायीहरू समयमै गुणस्तरीय काम गर्नतिर लाग्दैनन्। काम सुस्त छ, गुणस्तर कमजोर छ। तर, यो हेर्ने ट्राफिक, स्थानीय सरकार, सडक विभागजस्ता निकायहरू भने टुलुटुलु हेरेर बस्छन्। कसैलाई सरोकार छैन।
जहाँ तहाँ खाल्डाखुल्डी, अस्थायी डाइभर्सनको अव्यवस्थित अवस्था, न कुनै संकेत बोर्ड, नत सुरक्षा व्यवस्था। पानी परे हिलो, घाम लागे धुलो। यस्तो अवस्थाले गर्दा सवारी दुर्घटनाको जोखिम दिनदिनै बढ्दो छ। डाइभर्सन बनाउने नाममा ग्राभेल पनि हालिएको छैन। कतिपय ठाउँमा राति सवारी चलाउँदा अगाडि बाटो नै देखिँदैन। पैदल यात्रु, साइकल र मोटरसाइकल चालक सबैजना जोखिममा छन्। एम्बुलेन्स, दमकल वा स्कूल बस जस्ता अत्यावश्यक सेवाका साधनसमेत समयमै गन्तव्यमा पुग्न सक्दैनन्।
हामी पूर्व–पश्चिम राजमार्गलाई आधुनिक बनेको हेर्न चाहन्छौँ, तर निर्माण कार्यको गुणस्तर र प्रक्रिया नै कमजोर रहे सडकले झनै समस्या निम्त्याउँछ। कुनै पनि विकासले जनता सुरक्षित, सहज र भरोसामन्द महसुस गर्न सक्नुपर्छ। तर अहिले देखिएको लापरवाहीले गर्दा स्थानीय जनतामा आक्रोश मात्र होइन, डर पनि बढ्दै गएको छ। निर्माणका कामलाई योजना, अनुशासन र जिम्मेवारीका साथ अगाडि बढाउने। बनाउँदा भत्काउने होइन, सोचेर बनाउने। स्थानीय प्रशासन, निर्माण कम्पनी र जनप्रतिनिधिहरूले जनताको दुःख बुझेर सुधार ल्याउनु अत्यावश्यक भइसकेको छ।
https://www.facebook.com/prabhabkari/videos/2662692567267070