२०८३ भदौ ६, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ११ घण्टा अगाडि

दमक । पूर्व–पश्चिम राजमार्ग विस्तारका क्रममा दमकको मुख्य चोक पश्चिमतर्फ सडकका दुवैतर्फका संरचना भत्काउन सुरु गरिएको छ। सडक विस्तारका लागि संरचना हटाउन थालिएसँगै चाडपर्व नजिकिँदै गर्दा व्यवसायीहरू भने चिन्तित बनेका छन्।

व्यवसायीहरूले सडक विस्तारको काम आवश्यक भए पनि भत्काइएका क्षेत्र लामो समयसम्म अस्तव्यस्त छाडिने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। यसअघि सडक विस्तारका क्रममा भत्काइएका कतिपय क्षेत्रमा लामो समय बितिसक्दा पनि कालोपत्रे हुन नसकेको उनीहरूको भनाइ छ।

चाडपर्वको मुख्य व्यापारिक समय सुरु हुन लागेका बेला सडक तथा व्यापारिक क्षेत्र भत्काउन थालेपछि व्यवसाय प्रभावित हुने व्यवसायीहरूको गुनासो छ। उनीहरूले सडक विस्तारको कामलाई तीव्रता दिई भत्काइएको क्षेत्रलाई सकेसम्म छिटो व्यवस्थित र कालोपत्रे गर्न माग गरेका छन्।

पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत दमकको मुख्य सडक क्षेत्र फराकिलो बनाउने क्रममा सडकका दुवैतर्फ रहेका संरचना हटाउने काम अघि बढाइएको हो। व्यवसायीहरूले विगतको अनुभव दोहोरिन नदिन निर्माण कम्पनी तथा सम्बन्धित निकायले कामको गति बढाउनुपर्ने बताएका छन्।