भोटेकोशी बाढीपीडितका लागि विराटनगर महानगरले दियो एक करोड एक हजार
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि विराटनगर महानगरपालिकाले एक करोड एक हजार रुपैयाँ सहयोग गरेको छ।
महानगरपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिक तथा सेवा–सुविधाबाट रकम कटौती गर्नुका साथै विपद् व्यवस्थापन कोषबाट रकम व्यवस्थापन गरी सहयोग जुटाएको हो।
महानगरका मेयर नागेश कोइरालाले प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मालाई काठमाडौं पठाएर सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो।
महानगरका अनुसार विपद् व्यवस्थापन कोषबाट ११ लाख रुपैयाँ उपलब्ध गराइएको छ। बाँकी रकम जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको पारिश्रमिक र सेवा–सुविधाबाट कटौती गरी संकलन गरिएको हो।
राहत रकम जुटाउन मेयर कोइरालाले दुई महिनाको र उपमेयरले एक महिनाको सेवा–सुविधा दिनुभएको छ। वडाध्यक्षहरूको सात दिनको सेवा–सुविधासमेत राहत कोषमा जम्मा गरिएको महानगरले जनाएको छ।
त्यस्तै, सहसचिव तथा उपसचिव तहका कर्मचारीको १० दिन, अधिकृत तहका कर्मचारीको सात दिन तथा सहायक तहका कर्मचारीको तीन दिनको पारिश्रमिक कटौती गरिएको छ। सामुदायिक विद्यालयका शिक्षक–कर्मचारीको तह र श्रेणीअनुसार पाँचदेखि १० दिनसम्मको पारिश्रमिकसमेत राहतका लागि छुट्याइएको महानगरले जनाएको छ। विद्यालय कर्मचारी तथा बालविकास सहजकर्ताको दुई दिनको पारिश्रमिक पनि राहत कोषमा जम्मा गरिएको छ।
भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै महानगरले प्रभावित परिवारको तत्काल उद्धार, राहत, उपचार तथा पुनःस्थापनामा स्थानीय तहको तर्फबाट सहयोग गरिएको जनाएको छ।
मेयर कोइरालाले प्राकृतिक विपद्का कारण घर, सम्पत्ति र जीवनयापनको आधार गुमाएका नागरिकको पीडा साझा राष्ट्रिय पीडा भएको बताउनुभयो। उहाँले विपद्को पीडा कुनै भूगोल वा समुदायमा सीमित नहुने भएकाले राज्यदेखि स्थानीय तह, निजी क्षेत्र, संघसंस्था र आम नागरिकसम्म सबैले आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनुभयो।
महानगरपालिकाले भोटेकोशी बाढीपीडितको सहयोगका लागि देश तथा विदेशमा रहेका नेपाली, उद्योगी–व्यवसायी, संघसंस्था, सामाजिक अभियन्ता, नागरिक समाज तथा आम नागरिकलाई समेत सहयोगमा जुट्न आह्वान गरेको छ।
