२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ महिना अगाडि

दमक । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले आलोचना, सुझाव र कामप्रतिको मूल्यांकन फरक विषय भएको भन्दै पालिकाको विकासका कामलाई नकारात्मक रूपमा मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ।

अध्यक्ष राईले पालिकाको प्रशासनिक भवन निर्माणको विषयमा उठिरहेका प्रश्नप्रति संकेत गर्दै बोल्नु र काम गर्नु बिल्कुलै फरक कुरा भएको बताउनुभएको हो। उहाँले कसैको काम नदेखी दोष मात्र खोज्ने र भ्रम फैलाउने प्रवृत्तिले समाज तथा देशको हित नगर्ने धारणा व्यक्त गर्नुभयो।

प्रशासनिक भवन निर्माणको आवश्यकता स्पष्ट पार्दै अध्यक्ष राईले हाल गाउँपालिकाको प्रशासनिक कार्यालय साना–साना पाँचवटा खण्डमा विभाजित रहेको र पानी पर्दा भवनहरू चुहिने समस्या रहेको बताउनुभयो।

उहाँका अनुसार एउटै भवनबाट नागरिकलाई प्रभावकारी र व्यवस्थित रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले नयाँ प्रशासनिक भवन निर्माणलाई प्राथमिकता दिइएको हो। ‘एकै थलोबाट जनतालाई सेवा प्रवाह चुस्त र दुरुस्त दिन सके सुशासनको अनुभूति कमलबासीले पाउनेछन्,’ उहाँको भनाइ छ।

अध्यक्ष राईले कमल गाउँपालिकाले आवश्यक मापदण्ड पूरा भए नगरपालिका बन्ने र मापदण्ड नपुगे गाउँपालिकाकै रूपमा अघि बढ्ने निर्णय गरिसकेको जानकारी दिनुभयो। उहाँले प्रशासनिक भवन कुनै व्यक्ति वा वर्तमान नेतृत्वका लागि मात्र नभई भावी पुस्तासमेतका लागि उपयोगी हुने दाबी गर्नुभयो।

‘पात्र र नेतृत्व फेरिन सक्छन्, पालिकाको प्रशासनिक भवन फेरिँदैन। यो कमल गाउँपालिकाका नागरिकको सदैव सम्पत्तिका रूपमा रहिरहनेछ,’ अध्यक्ष राईले भन्नुभयो।

उहाँले पालिकाको वर्तमान तथा विगतको नेतृत्वले गरेका भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला, बालबालिका लगायत नागरिक सरोकारका विषयमा खुला छलफल गर्न आफू तयार रहेको बताउनुभयो।

अध्यक्ष राईले पालिकाका कामबारे नागरिकका सल्लाह, सुझाव र आलोचनालाई समेत ग्रहण गर्न आफू सदैव तयार रहेको उल्लेख गर्दै विकास निर्माणका विषयमा तथ्य र परिणामका आधारमा छलफल गर्न आग्रह गर्नुभएको छ।