२०८१ मंसिर २९, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

लमजुङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले लोकतन्त्रलाई संकटमा पारेको बताएका छन ।
कांग्रेसले सुरु गरेको जागरण अभियानअन्तर्गत पहिलो चरणको अभियानको शनिबार लमजुङको भुल्मीचोकमा समापन गर्दै सभापति देउवाले भने, ‘वर्तमान सरकार लोकतन्त्रको विरुद्धमा लागेको छ । अब लोकतन्त्र जोगाउन सबै नेपाली एक हुनुपर्छ ।’
देउवाले लामो संघर्ष र बलिदानबाट प्राप्त प्रजातन्त्र र नागरिकको अधिकार वर्तमान सरकारले हनन गरेको आरोप लगाउँदै भने, ‘अहिलेको सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, मानवअधिकारमा हस्तक्षेप गरेको छ । सवै ठाउँमा हस्तक्षेप छ । यो सहृय विषय होइन ।’
देउवाले नागरिकको स्वतन्त्रता विरुद्धको कुनै पनि विधेयक संसद्बाट पारित हुन नदिने दाबी गरे ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा शान्ति स्थापना र संविधान ल्याउन कांग्रेसले नेतृत्वदायी भूमिका खलेको भन्दै कसैले पनि भ्रम नछर्न आग्रह गरे ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य दीलबहादुर घर्ती, कमला पन्त, महिला संघका केन्द्रीय सभापति डा. डिला संग्रौला लगायतले सरकारका कारण जनता दिनानुदिन असुरक्षित बन्दै गएको बताएका थिए ।