२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

भारतको पश्चिमी राज्य गोवामा रहेको एउटा गाउँ प्रत्येक वर्ष एक महिना मात्र देखा पर्छ, बाँकी समय पानीमा डुब्छ। एक महिनाको अवधिमा सो स्थानबाट बसाइँ सरेका स्थानीय बासिन्दा जम्मा हुन्छन् र आफ्नो पुरानो थातथलोमा रमाउँछन्। सुप्रिया वोहराको रिपोर्ट।

भारतको पश्चिमी घाटमा दुईवटा पहाडबीच अवस्थित कुर्डी गाउँको बीचबाट सलाउलिम नदी बग्छ। कुनै बेला यो दक्षिणपूर्वी गोवाको एउटा जीवन्त गाउँ थियो। कुर्डीका बासिन्दाहरूका अनुसार यसको अस्तित्व सन् १९८६ मा मेटिएको हो।
राज्यमा बनेको पहिलो बाँधका कारण कुर्डी पूर्ण रूपमा पानीमा डुब्न पुग्यो। तर प्रत्येक वर्ष मे महिनामा पानीको सतह घट्दै जान्छ र गाउँको भग्नावशेष देखिन्छ।
चिरिएको भुइँ, रूखका मुढा, त्यस गाउँका घर र धार्मिक संरचनाका अवशेष, पुराना घरेलु सामान र ठाउँठाउँमा पानी जमेको बाँझो भूमि।
झन्डै तीन हजार जनसंख्या रहेको उक्त गाउँको भूमि उर्वर थियो।
धानबालीवरिपरि नरिवल, काजु र आँपजस्ता फलफूल लगाइन्थ्यो र गाउँलेहरूको जीविका समान्य रूपमै चलिरहेको थियो।
उक्त गाउँमा हिन्दू, मुसलमान र इसाई धर्मावलम्बीहरू बस्ने गर्थे। गाउँमा एउटा ठूलो मन्दिर पनि थियो। सबै धर्म मान्नेका लागि आआफ्नै प्रार्थना तथा पूजा गर्ने स्थान थिए।
तर सन् १९६१ मा गोवा पोर्चुगलबाट मुक्त भएपछि भने निकै परिवर्तन हुन पुग्यो।


स्वतन्त्र भएपछि गोवाका प्रथम मुख्यमन्त्री दयानन्द बान्दोडकरले कुर्डीको भ्रमण गरे र राज्यको पहिलो बाँध निर्माणबारे समाचार सुनाए।
सबै स्थानीय बासिन्दाहरूलाई बोलाएर उक्त परियोजनाबाट सबै जना लाभान्वित हुने बताए।
‘गाउँ पूर्ण रूपमा डुब्ने भए पनि हाम्रो त्यागका कारण बृहत्तर हित हुने कुरा उनले हामीलाई बताए,’ उक्त छलफलको धमिलो सम्झना रहेका बताउने ७५ वर्षीय गजानन कुर्डीकरले बताए। छ सय परिवारसहित उनको परिवार पनि अन्यत्र बसाईँ सर्न बाध्य भयो। क्षतिपूर्तिस्वरूप विस्थापित गाउँलेहरूलाई नजिकैको गाउँमा जमिन दिइयो।
सलाउलिम नदीको तटीय क्षेत्रमा बनेको उक्त परियोजनालाई सलाउलिम सिँचाइ परियोजना भनिन्छ। निकै महत्वाकांक्षी मानिएको उक्त परियोजनाबाट सिँचाइ गर्न तथा घरायसी र औद्योगिक प्रयोजनका लागि पानी उपलब्ध गराउने प्रस्ताव गरिएको थियो।
सर्वसाधारणका लागि दैनिक ४० करोड लिटर पानी उपलब्ध गराउने बताइएको थियो।
‘नयाँ गाउँमा आउँदा हामीसँग केही पनि थिएन,’ इनासियो रोड्रिगेसले स्मरण गरे। सन् १९८२ मा बसाइँ सर्ने पहिलो केही परिवारमध्ये उनको पनि थियो।

घर निर्माण नहुँदासम्म उनीहरू अस्थायी आश्रयस्थलमा बस्न बाध्य भएका थिए। कतिलाई घर बनाउन पाँच वर्षसम्म लाग्यो। सन् १९८६ मा बसाइँसराइ गर्दा गुरुचरण कुर्डीकर १० वर्षका थिए।
‘सामान ओसारपसार गर्ने गाडीमा आमाबुवाले सबै सरसामान राखेको म अलिअलि सम्झन्छु। बाजेबजैसँगै मलाई पनि गाडीमा राखिएको थियो। आमाबुवा भने मोपेडमा पछिपछि आउनु भएको थियो,’ ४२ वर्षीय कुर्डीकरले भने।
राज्यको बृहत्तर विकासका लागि बसाइँ सरेका उनीहरूको नयाँ गाउँमा भने कहिल्यै पनि पानी पुगेन। ‘दक्षिण गोवाका सबै स्थानमा वाचा गरिएअनुरूप खानेपानीका धारा जडान गरिएन,’ गजानन कुर्डीकर भन्छन, ‘जस कारण हामीले पिउने पानी उक्त बाँधबाट आउँदैन।’
अहिले कुर्डीकर बस्ने स्थानमा दुईवटा ठूला इनार छन्। तर एप्रिल र मे महिनामा इनार सुक्न सुरु हुन्छ। त्यसपछि उनीहरू सरकारी ट्याङ्करमा भर पर्न बाध्य हुन्छन्।

पानीको तह घटेपछि कुर्डीका स्थानीय बासिन्दाहरू आफ्नो पुरानो वासस्थानको अवलोकन गर्न जान्छन्। उक्त महिनामा हिन्दूहरूले पूजाआजा गर्छन् भने इसाईहरू वार्षिक रूपमा गरिने प्रार्थनाका लागि भेला हुन्छन्।

‘हिजोआज हामीलाई झोला बोकेर बसाइँ सर्न निकै सहज छ,’ गोवास्थित समाजशास्त्री भेनिसा फर्नान्डेसले भनिन्न।

‘तर कुर्डीका मानिसहरूको परिचय नै उनीहरूको भूमिमा आधारित थियो। उनीहरू भावनात्मक रूपमै जोडिएका थिए। त्यसैले होला उनीहरू त्यस स्थानलाई उत्साहपूर्ण रूपमा सम्झन्छन् र फर्किरहन्छन्।’

(गोवास्थित सुप्रिया वोहरा स्वतन्त्र पत्रकार हुन) स्रोत : बीबीसी