२०८१ बैशाख ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिजो माइतीघरमा भएको घटनाबारे गृहमन्त्रीको जवाफ माग गरेपछि दुबै सभाको बैठक स्थगित भएको छ ।
कांग्रेसले गुठी विधेयकको विरोधमा राजधानीको माइतीघर मण्डलामा भएको प्रदर्शनमा सरकारले लाठी र पानीको फोहोरा प्रहार गरेको भन्दै त्यसको जवाफ माग गर्दै बैठक अवरूद्ध गरेको हो।
बैठकको सुरूआतमै कांग्रेसले गुठी विधेयकबारे प्रश्न उठाएपछि सभामुख कृष्णबहादुर महराले भूमिसुधार मन्त्री पद्मा अर्याललाई बोल्न समय दिएका थिए। अर्यालले गुठी विधेयक संविधानको मर्म र भावना अनुरूप ल्याएको बताएकी थिइन्।
तर कांग्रेसले अर्यालको जवाफमा चित्त नबुझेको भन्दै गृहमन्त्रीको जवाफ माग गरेको हो। कांग्रेसकी सांसद पुष्पा भुषालले रितिथिति जोगाउन माइतीघरमा शान्तिपूर्ण आन्दोलन गर्दै जाँदा जवाफ लाठी वर्षा गराइएको बताइन् । उनको प्रश्न थियो, ‘संविधानको गलत ब्याख्या गरेर रितिथिति र धर्ममाथि धावा बोल्न मिल्छ ?’ भुषालले भनिन्, ‘शान्तिपूर्ण ढंगले जनताले सडकमा आएर बोल्न नपाउने डेमोक्रेसी हामीलाई चाहिएको छैन।’
गुठियारको तहस नहस गराउने विधेयक र हिजोको घटनामा सदनमा गृहमन्त्रीले जानकारी गराउनु पर्यो भन्दै उनले अन्यथा प्रमुख प्रतिपक्षले संसदको बैठक सुचारु गर्न नसक्ने बताइन । त्यसपछि कांग्रेसका सबै सांसद उठेर बिरोध जनाएपछि सभामुख कृण बहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरे ।
यसैबीच राष्ट्रियसभाको आइतबारकोे बैठक पनि १५ मिनेटका लागि स्थगित गरिएको भएपनि यो समाचार तयार पार्दासम्म सुचारु भएको छैन । बिहान ११ः१० बजे शुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरुले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ को खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघर मण्डलामा आयोजना गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड तथा लाठी प्रहार गरेको भन्दै सो विषयमा सरकारसँग स्पष्ट जवाफको माग गर्दै सांसदहरुले राष्ट्रियसभाको बैठकमा अवरोध गरेपछि स्थगित भएको हो ।
सभामा नेपाली काँग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले आइतबार भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गर्दा सञ्जीव बज्राचार्य, महेश्वर रञ्जितकारलगायत धेरै जना घाइते भएको भन्दै भत्र्सना गरे । उनले विधेयक संविधान विपरीत भएको भन्दै सच्याउनसमेत माग गरे ।