२०८१ कार्तिक १७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

वासिङटन । संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको जनाएको छ ।
इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी कार्यबाहक रक्षामन्त्री प्याट्रिक सानाहनले सो जानकारी दिनुभएको अमेरिकी अखबारहरुले जनाएका छन् ।
कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भनेका छन– मैले मध्यपूर्वमा प्रतिरक्षात्मक प्रयोजनका लागि थप एक हजार जना सैनिक पठाउने अनुमति दिएको छु ।
ती सैनिक हवाई र स्थल सैन्यसमेत रहेका उनले जानकारी गराएका छन । उनले यस विषयमा पहिले नै अमेरिकी प्रशासनले सहमति दिइसकेको जानकारी एक विज्ञप्तिमार्फत गराएका हुन ।
यतिखेर अमेरिकाको इरानसँगको सम्बन्ध झन नराम्रो बन्दै गएको छ । यस शत्रुतापूर्ण सम्बन्धका कारण इरानीहरुले मध्यपूर्वमा अमेरिकी सैनिकलाई पनि धाकधम्की देखाउने गरेकाले थप सैन्य पठाउनु परेको उनले बताए ।
खाडी राष्ट्र ओमानमा हालैमात्र दुई ओटा तेल ट्यांकरमाथि आगलागी भएको थियो । ती ट्यांकरमा अज्ञात व्यक्तिहरुले हमला गरी आगो लगाएका थिए ।
उक्त हमलाको केही दिनपछि अमेरिकी प्रशासनको यो निर्णय आएको छ किनभने ओमानमा भएको सो हमला इरानले गरेको अमेरिकी प्रशासनले दाबी गरेको छ ।
त्यहाँ यसअघि पनि अमेरिकी सैन्य खटि आएका छन् । अमेरिकाले थप एक हजार जना पठाउने निर्णय गरेको हो ।