अफगानिस्तानमा दुई अमेरिकी सैनिक सहित १० सुरक्षाकर्मी मारिए
काबुल । अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतङ्ककारी आक्रमणमा मृत्यु भएको छ । अफगानिस्तानमा नेटोआवद्ध अमेरिकी सैनिक यो पछिल्लो हताहत अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेको अवस्थामा भएको छ ।
अफगान सैनिकलाई सहयोगार्थ बसेका ती दुई सैनिक मारिएका विषयमा विस्तृत विवरण भने दिइएको छैन । तर सेप्टेम्बर १ भन्दा आगाडी हुने भनिएको शान्ति वार्ताको विषयमा छलफल गर्न अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले आकस्मिक अफगानिस्तानको राजधानी काबुलको भ्रमण गरेको २४ घण्टा भन्दा कम समयमा नै यो आक्रमण भएको बताइएको छ।
हालसम्म यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यसअघि नेटोआवद्ध अमेरिकी सेनामाथि हुदै आएको आक्रमणको तालिबान लडाकू समूहले जिम्मा लिदै आएका थिए ।
अफगानिस्तानमा यस वर्षको शुरुदेखि हालसम्म नेटोआवद्ध अमेरिकी सेनामाथि भएको आक्रमणहरुको क्रममा नौ सैनिकको मृत्यु भएको छ । सन् २०१८ को यसै अवधिमा १२ नेटोआवद्ध अमेरिकी सैनिकको मृत्यु भएको थियो ।
यसैबीच अफगानिस्तानको पश्चिमी प्रान्त हेरातको मध्य भागमा रहेको एक जिल्लामा मङ्गलबार राती तालिबान लडाकू समूहको आक्रमणमा परी कम्तीमा आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य १६ जना घाइते भएका छन् । प्रहरी स्रोतले बुधबार उक्त जानकारी दिएको छ ।
गोलरान जिल्लामा तालिबानहरुले मङ्गलबार राती गरेको यस आक्रमणमा परी आठ सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै जिल्ला प्रहरी प्रमुखलगायत १६ जना घाइते भएका प्रान्तीय प्रहरीका प्रवक्ता अब्दुल अहाद वालिजादाले सिन्ह्वा समाचार समितिलाई बताएका छन ।
मङ्गलबार राती भएको यस आक्रमणपछि सुरक्षाबल र तालिबान लडाकूबीचको झडप बुधबारसम्म पनि जारी रहेको वालिजादाले बताए ।
तर प्रहरी स्रोतले तालिबान लडाकूतर्फ क्षतिको कुनै विवरण दिएको छैन् । तालिबान लडाकू समूहले पनि यस आक्रमण र त्यसपछिको झडपको कुनै टिप्पणी गरेका छैनन् ।