२०८१ चैत्र ५, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

अहिलेको समय भनेको कम समयमा अधिकतम काम गर्ने हो । बिना थकान र रोकावट अधिकतम परिणाम कसरी प्राप्त गर्ने भन्ने प्रतिस्पर्धा हो । समय व्यवस्थापन आजको सवैभन्दा ठूलो माग हो । कुनै पनि रोजगारदाता तव मात्र बढी खुशी हुन सक्छ जव उसका कामदारहरुले न्युनतम समय र प्रयासमा अधिकतम परिणाम दिन सक्छ ।

रामायणको सुन्दरकाण्डमा हनुमान जी र सुरसा राक्षसीको प्रसंगले समय व्यवस्थापनको यहि कुरा दर्शाउँछ । जव सुरसा राक्षसीले हनुमान जीलाई खानका लागी आफ्नो मुख बाइन तव हनुमान जीले पनि आफ्नो जिउलाई राक्षसीको मुख भन्दा दोब्बर गरी बढाए । अनि, फेरी जव राक्षसीले त्यो भन्दा ठूलो गरी मुख बाइन हनुमान जी सानो स्वरुपमा राक्षसीको मुखबाट भित्र छिरेर बाहिर आए ।

हनुमान जी को यो कथाबाट थाहा पाइन्छ कि जीवनमा कसैसँग पनि ठूलो बनेर जित्न सकिँदैन । सानो स्वरुप हुनुको अर्थ भनेकै नम्रता हो जसले सदैव विजय नै गराउँछ हराउँदैन । यदी हनुमान जीले चाहन्थे भने सुरसासँग युद्ध पनि गर्न सक्दथे । तर, उनले यो विचार गरे की युद्ध मेरो लक्ष्य होइन । युद्धमा अल्मलिदा समय र उर्जा दुवै नष्ट हुन सक्छ । लक्ष्य त मेरो सिता माताको खोज हो । यसलाई नै हामिले सहज बुद्धि भन्दछौ । समय र उर्जा बचाउने माध्यम सहज बुद्धिका अलावा मौन रहनु पनि हो ।

हनुमान जी सुरसाको सामुन्ने मौन नै रहे भने पनि हुन्छ । मौन रहनुको अर्थ बाणीमा कलात्मक नियन्त्रण पनि हो । कम शब्द युक्त बाणीले मानिस भित्रको सद्भावयुक्त व्यक्तित्वलाई सुगन्धित बनाई दिन्छ । त्यसैले सुरसाको अगाडि हनुमान जीले जुन सहज बुद्धिको परिचय र बाणीमा नियन्त्रण देखाए त्यसबाट उनले सुरसाबाट आर्शिवाद र लक्ष्यमा पुग्न सहयोग नै प्राप्त गरे । कुनै समय व्यर्थको विवाद र युद्धमा गुमाएनन ।