साढे ४ घण्टादेखि त्रिभुवन विमानस्थल बन्द, चिप्लिएको जहाज निकाल्ने प्रयास जारी
काठमाडौं । विहान ११ बजेदेखि बन्द भएको नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थल अझै सुचारु हुन सकेको छैन । विमानस्थलको धावनमार्गमा यति एयरको विमान चिप्लिएर ट्याक्सी वेमा पुगेपछि विमानस्थलमा उडान र अवतरण बन्द भएको हो ।
विमानस्थलका अनुसार काठमाडौं आउन उडेका अन्तर्राष्ट्रिय विमाहरुलार्ई डाइभर्ट गरिएको छ भने नेपालभित्रका विमानहरुको उडान रोकिएको छ।
नेपालगञ्जबाट आएको यति एयरको उडान नम्बर एनवाइटी–४२२ को एटीआर विमान अवतरणको क्रममा शुक्रबार बिहान ११ बजेर ५ मिनेट जाँदा धावनमार्गबाट चिप्लिएको थियो । जहाजभित्र ६६ यात्रु र तीन जना चालक दलका सदस्यसहित ६९ जना थिए ।
विमानस्थल प्रवक्ता प्रताप तिवारीका अनुसार जहाजका तीन यात्रु सामान्य घाइते छन भने अरूलाई सकुशल उद्धार गरिएको थियो । अहिले आपतकालीन संयन्त्रलाई सुचारू गरेर उद्धार कार्य भइरहेको छ।