२०८१ कार्तिक १७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

हङकङ । हङकङमा लोकतन्त्रको समर्थनमा भएको र्यालीमा हिंसा भड्किएपछि प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ।
चेतावनी दिँदा पनि प्रदर्शनकारीहरू नरोकिएपछि प्रहरी र प्रदर्शनकारीबीच झडप शुरू भएको थियो। प्रदर्शनकारीले अटेर गरी प्रहरी घेरामा प्रवेश गर्न खोज्दै विभिन्न सामान फ्याकेको अधिकारीहरूको आरोप छ। प्रदर्शनकारीहरूले चीनको केन्द्रीय सरकारी कार्यालयतर्फ बढ्दै त्यहाँका भवनहरूमा अण्डा फ्याकिरहेका थिए।
आइतवारको प्रदर्शनको आयोजना गर्नेहरूले ४ लाख ३० हजार जनाभन्दा बढीले प्रदर्शनमा भाग लिएको बताएका छन्। प्रहरीले भने १ लाख ३८ हजार जनाले प्रदर्शन गरेको जनाएको छ।
शुरूमा एउटा बन्दै गरेको सुपुर्दगीसम्बन्धी कानुनलाई लिएर यस्तो विरोध प्रदर्शन थालिएको थियो। उक्त कानुन अनुसार हङ्कङका मानिसहरूलाई पनि चीनमा सुपुर्दगी गर्न सकिने थियो। अब भने त्यसमा लोकतन्त्रसम्बन्धी अन्य कुरा पनि समेटिएका छन्।
आइतवार अबेर नकाब लगाएको दङ्गा नियन्त्रण गर्ने प्रहरी हातमा ढुङ्गामुढा छेक्ने सुरक्षाढालसहित त्यहाँको मुख्य टापुस्थित एउटा नौका टर्मिनल नजिकै प्रदर्शनकारीतर्फ बढिरहेको देखिएको थियो।

चीन सरकारको एउटा भवन बाहिर केही प्रदर्शनकारीले छर्कन मिल्ने पेन्टले नारा लेखिदिएका छन्। त्यसमध्येको एउटा नारा छ, “शान्तिपूर्ण प्रदर्शनको कुनै अर्थ छैन भन्ने तिमीले हामीलाई सिकायौँ।“
सीसीटीभीमा केही प्रदर्शनकारी प्रहरी चौकी बाहिर पनि छर्कन मिल्ने पेन्टसहित देखिए। उत्तरी हङ्कङको एउटा मेट्रो स्टेशनमा केही नकाबधारी व्यक्तिहरूले लोकतन्त्र समर्थकहरूमाथि हमला गरेका छन्।

उक्त घटनाको भिडिओमा त्यो समूहले मानिसहरूलाई लाठीले कुटिरहेको देखिन्छ।

उक्त घटनापश्चात् कम्तीमा ३६ जना मानिसलाई अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। बीबीसी