नेकपाले टुंग्यायो एकता प्रकृया ।
काठमाडौं : सत्तारुढ दल नेकपाले संगठनात्मक एकताका लागि केन्द्रले तय गर्नुपर्ने सबै काम टुंग्याएको छ। पार्टी एकताको १८ महिनापछि सोमबार नेकपाले अन्तरिम विधान अनुसार संगठनात्मक संरचनाको नेतृत्व चयन प्रक्रिया टुग्याएको हो।
नेकपाले पार्टी एकता गर्दा संगठनात्मक एकताका सम्पूर्ण काम तीन महिनाभित्र टुग्याइ सक्ने घोषणा गरेको थियो।
शीर्ष नेतृत्व बीचमा नेतृत्व चयनमा सहमति नहुँदा नेकपालाई संगठनात्मक एक्ता टुंग्याउन सकस भएको थियो। सोमबारको सचिवालय बैठकबाट संगठनात्ममक एकताले पूर्णता पाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सचिवालयलाई संगठनात्मक संरचना अनुसारका झण्डै ११ निकायको नेतृत्व टुंगो लगाउनै पर्ने जिम्मेवारी थियो।
केन्द्रीय आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व सोमबार टुग्गो लागेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले विधान अनुसारका तीनवटा केन्द्रीय आयोग (अनुशासन, निर्वाचन र लेखा परीक्षण), केन्द्रीय सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिस्ट मञ्चको अध्यक्ष र सचिव चयन गरेको छ। अनुशासन आयोग अध्यक्षमा अमृत बोहोरा, सचिवमा अशोक रोकाय, निर्वाचन आयोग अध्यक्षमा विष्णुपुकार श्रेष्ठ र सचिवमा माधव पौडेल, लेखापरीक्षण आयोग अध्यक्षमा पुष्प कँडेल र सचिवमा टेकनाथ आचार्य चयन भएका छन्। त्यस्तै सल्लाहकार परिषद् अध्यक्षमा केशव वडाल र सचिवमा नन्दकुमार थापा, ज्येष्ठ कम्युनिस्ट मञ्च अध्यक्षमा नन्दकुमार प्रसाईं र सचिवमा गोविन्द ज्ञवाली चयन भएका छन्। तीन आयोगमध्ये दुईवटामा पूर्वएमाले र एकमा पूर्वमाओवादी तथा सल्लाहकार परिषद्मा पूर्वएमाले र ज्येष्ठ कम्युनिस्ट मञ्चको नेतृत्व पूर्वमाओवादीका नेताले जिम्मेवारी पाएका छन्।
अनुशासन आयोग र लेखापरीक्षण आयोगमा क्रमशः तत्कालीन एमालेमा छँदा पनि बोहोरा र कँडेल नै अध्यक्ष थिए। यसअगाडि नेकपाले प्रदेश कमिटी, जिल्ला कमिटी, महानगर कमिटीको नेतृत्व चयन गरिसकेको थियो भने केन्द्रीय सदस्यको कार्यविभाजन पनि लामो समय लगाएर टुग्गो लगाएको थियो।
सचिवालयले टुंगो लगाएको संगठनात्मक एकताका निर्णय स्थायी समिति र केन्द्रीय समितिबाट अनुमोदन गर्न बाँकी छ। स्थानीय तहका अन्य काम भने प्रदेश किमिटी र जिल्ला कमिटीले आफैंले टुग्गो लगाउने छन्।
केन्द्रले पोलिटब्युरो गठन र राष्ट्रिय परिषद्मा मनोनयन गर्न बाँकी छ। केन्द्रीय विभाग, जनसंगठनका केन्द्रीय निकाय र आयोगहरूले भने पूर्णता पाएका छैनन्। प्रवास कमिटी भने नबनाउने निर्णय भएको छ। प्रवासमा रहेका नेपालीको हक, हित र समन्वयका लागि के गर्ने भन्नेमा छलफल भइरहेको छ’, प्रवक्ता श्रेष्ठले भने।
सीमा समस्यामा प्रधानमन्त्रीद्वारा ब्रिफिङ
सचिवालय बैठकमा प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमण गरेको सीमाका विषयमा सरकारले गरिरहेको तयारीकाबारे ब्रिफिङ गरेका थिए। प्रधानमन्त्रीले सरकारका तर्फबाट तथ्य-तथ्यांकका आधारमा आधिकारिक प्रस्ताव तयार पारिरहेको र त्यही आधारमा भारतसँग कुटनीतिक सन्यत्रमार्फत छलफल अगाडि बढाउन खोजेको जानकारी दिएका थिए।
‘दुई देश बीचको वार्ताका निम्ति आधिकारिक प्रस्ताव तयार पार्ने काममा सरकार लागेको छ। सरकारले भारतले जारी गरेको नक्सा नेपाललाई अमान्य भएको प्रष्ट अडान राखिसकेको छ। भारतस्थित नेपाली राजदूतमार्फत् भारतीय पक्षलाई ध्यानाकर्षण पनि गराइसकिएको छ। अब आधिकारिक प्रस्ताव तयार पारेर भारतसँग कुटनीतिक सन्यत्रमार्फत छिट्टै आफ्नो कदम अगाडि बढाउँछौं’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै प्रवक्ता श्रेष्ठले भने।