२०८० चैत्र १६, शुक्रबार
  • ४ वर्ष अगाडि

काठमाडौं । समय–समयमा राजश्वको विषयलाई लिएर विवादमा पर्दै आएको निजी टेलिकम कम्पनी एनसेलको अर्को प्रकरण बाहिर आएको छ । एनसेलको स्थानीय साझेदार भावना सिंह श्रेष्ठले बागबजारमा ६ रोपनी जग्गा एक अर्ब २० करोड रूपैयाँमा खरिद गरेकी छन् ।

शाह परिवारको स्वामित्वमा रहेको जग्गामा अहिले आराधना कम्प्लेक्स सञ्चालनमा रहेको छ । यही कम्प्लेक्स र यसैसँग जोडिएको जग्गा श्रेष्ठले खरिद गरेकी हुन् । श्रेष्ठ एनसेलको स्थानीय साझेदार कम्पनी सुनिभेरा क्यापिटल भेञ्चरस् प्रालिकी एकमात्र लगानीकर्ता समेत भएको बताइएको छ ।

एनसेलमा सुनिभेराको २० प्रतिशत सेयर स्वामित्व छ भने बाँकी ८० प्रतिशत सेयर मलेसियाको टेलिकम कम्पनी एक्जियटासँग रहेको छ । श्रेष्ठका श्रीमान् सतीशलाल आचार्य नेपालको टेलिकम क्षेत्रका एक चर्चित नाम हो । आचार्यले नेपालको आफ्नो अधिकांश व्यापार श्रीमती भावनाको नामबाट सञ्चालन गर्दै आएका छन् । ताहाचलमा माइती भएकी श्रेष्ठले काठमाडौं मनपा–३ का सोनिला मल्ल शाह, धनेन्द्रबहादुर शाह र नभेन्द्रबहादुर शाह समेतबाट छुट्टाछुट्टै ८ कित्ता जग्गा खरिद गरेकी हुन् ।

श्रेष्ठले किनेको जग्गाको दस्तुरमात्रै थैली अंकको ५ प्रतिशतका दरले ६ करोड रूपैयाँ हुन्छ । त्यसै गरि बागमती सभ्यता कोषमा ०.५ प्रतिशत अतिरिक्त कर तिर्नुपर्ने भएकाले उनले थप ६० लाख रूपैयाँ कर तिरेकी हुन् । दुवै कर गरि ६ करोड ६० लाख रूपैयाँ राज्यलाई मात्रै लाभ भएको छ । बिक्रेताले सरकारलाई पुँजीगत लाभकर एक करोड ६८ लाख रुपैयाँ बुझाएका छन् । ताहाचलमा माइती भएकी श्रेष्ठ सिंगापुरको पीआर होल्डरसमेत भएको बताइएको छ ।