प्रधानमन्त्री ओलीको ट्वीटर ह्याक, छानबिन अघि बढ्यो
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटर ह्याक भएको खुलासा भएको छ । भारतमा विवादास्पद नागरिकता विधेयक सदनबाट पास भएपछि जनतामा आक्रोश फैलिरहेका बेला प्रधानमन्त्री ओलीको ट्वीटरबाट एउटा विवादास्पद ट्वीट रि–ट्वीट भएको हो ।
भारतीय कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश प्रधानमन्त्री ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ ट्वीटरको पासवर्ड दुरुपयोग गरेर रि–ट्वीट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
थापाले ट्वीटरबाटै भने, ‘प्रधानमन्त्रीको ट्वीटरको पासवर्ड दुरुपयोग भएको छ । उक्त विषयमा छानबिन भइरहेको छ ।’ प्रधानमन्त्री ओलीको ह्याण्डलबाट भएको रि–ट्वीट केही घण्टामै हटाइएको थियो ।
भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस नेतृको भिडियोलाई प्रधानमन्त्री ओलीको भेरिफाइड ट्वीटर ह्याण्डलबाट रि–ट्वीट भएपछि सामाजिक सञ्जालमा अनेकौं टिकाटिप्पणी भएको छ ।
पत्रकार नारायण अमृतले ‘विदाउट कमेन्ट्स’ भन्दै प्रधानमन्त्री ओलीले गरेको रि–ट्वीटको स्क्रिनसट ट्वीट गरे । उनले लेखे, ‘ट्वीट डिप्लोमेसी पनि हुन्छ भन्ने ख्याल गरौँ है प्रमज्यू । नत्र यतिले नै नपुग्ला ।’
KP Sharma Oli's official twitter handle just RTed it. pic.twitter.com/U66qYtcAKS
— Sagar Uprety (@sagar_uprety) December 20, 2019

