२०७८ बैशाख २७, सोमवार
  • १ वर्ष अगाडि

अशोक राई

आदिवासी जनजाती तामाङ समुदायहरुको प्रमुख चाड सोनाम ल्होछारको उदघाटन कार्यक्रमको लागी तामाङ धेदुङ संघले प्रमुख अतिथि यो देशको सम्मनीय राष्ट्रपतिलाई निमन्त्रणा गरिएको हो । किन कि यो सोनाम ल्होछार चाड तामाङ समुदायहरुको मात्र नभएर यो राष्ट्रको नै चाड हो । राष्ट्रको चाडमा राष्ट्रको सम्मानित ब्यक्तिलाई अभिभावक मान्नु आदिवासी जनजातिको संस्कार हो ।

अब सवाल रह्यो, राष्ट्रपति ज्यु …
यो देशको आदिवासी जनजाती समुदायले राष्ट्रपतिलाई अभिभावक मान्ने कि भण्डारी महिला मात्र हुन भनेर मान्ने ? कुन सोच र मानसिकताले प्रमुख अतिथिको निमन्त्रणालाई अस्वीकार गर्ने चेष्टा गर्नु भयो राष्ट्रपति ज्यु ? सिङ्गो तामाङ समुदायले आफनो जातीय पहिचान र अधिकार संगै सोनाम ल्छोहार मनाउनु समस्त आदिवासी जनजातिको संस्कृतिसंग जोडिएको कुरा हो ।

सम्मानीय राष्ट्रपति ज्यु…
सोनाम ल्छोहारको नारा “ल्होछारको प्रवर्द्धन, हाम्रो सांस्कृतिक एकताको नारा, ताम्सालिङ प्रदेशको स्थापना हाम्रो राजनीतिक एकताको अभिभारा” के यो नारा देशको राष्ट्रपतिलाई आपत्ति हो कि ? भण्डारी महिलालाई आपत्ति ? आदिवासी जनजाति समुदायहरुले बुझ्न नसकेको कुरा ?

स्मरण रहोस् राष्ट्रपति ज्यु…
नेपालको संबिधानको धारा ३२ ले प्रत्येक ब्यक्ति तथा समुदायलाई आफनो भाषा तथा संस्कृतिको हकको रुपमा मौलिक हकको ब्यबस्था गरिएको छ । नेपालको संबिधानले अंगिकार गरिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासनमा ब्यबास्था गरिएको जातीय स्वायत्तता र दिएको पहिचान माग्नु आदिवासी जनजातिको अधिकारको कुरा हो । तर यो देशको राष्ट्रपति बनौं वा अभिभावक बनौं ? बुझेर पनि नबुझै जस्तो गरि राष्ट्रको सांस्कृतिक चाड २८५६ औं सोनाम ल्छोहारको नाराको कारण नै कार्यक्रममा आउन अस्विकार गर्नु राष्ट्रपति ज्युको सोच र मानसिकता कस्तो हो भनेर ३७% भन्दा बढी जनसंख्या भएको आदिबासी जनजातिको लागी गम्भीर चिन्तनको बिषय छ ।

अध्यक्ष
अशोक राई
आदिवासी जनजाती विद्यार्थी महासंघ त्रिभुवन बिश्वबिद्धालय