२०७९ चैत्र १३, सोमवार
  • ३ वर्ष अगाडि

काठमाडौं, १९ माघ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय बैठकमा नेकपाका नेताहरुले खुलेर कुरा राखे । झण्डै दुई वर्षपछि बसेको बैठकमा मनमा गुम्सिएका कुराहरु नेताहरुले बैठकमा बाँडेका हुन् ।

समूहगत छलफल हुँदै टोली नेतामार्फत् रिपोर्टिङ गर्ने क्रमबाट पार्टी, सरकार र अन्य विषयहरुमा गम्भीर मुद्दाहरु उठाइयो । यसमध्ये नेकपा नेताहरुबीच कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मालाई चुनाव हराउने नेकपाका बौद्धिक नेता राम कार्कीको भाषण पनि चर्चामा छ ।

उनले मुलुकमा निर्वाचन प्रणाली लोकतन्त्रका लागि नै घातक बन्दै गइरहेको धारणा राखे । ‘राम कार्कीले आफ्नै पीडालाई जोडेर निर्वाचन प्रणालीको कुरा गर्नुभयो,’ बैठकमा सहभागी एक नेताले कार्कीको भनाई उद्धृत गर्दै भने, ‘निर्वाचन प्रणाली नै घातक भयो । २५-३० करोड खर्च नगरी चुनाव जित्न नसकिने । पहिला टिकट पाउनै पैसा खर्च गर्नुपर्छ । कि पैसा खर्च गर्नुपर्ने, कि नेताको आफन्त हुनुपर्ने ।’

कार्कीले आफ्नै शैलीमा टिकट पाएपछि झन् दुःखका दिन सुरु हुने अनुभूति बाँडे । ‘टिकट पाएपछि चुनाव जित्न गाह्रो । ठूला घराना, ठूला उद्योगपतिको पैसा लिनुपर्ने । २०-३० लाख, ५० लाख । चुनावमा उसले सहयोग गरेपछि जितेर फर्केपछि उसको अगाडि उभिँदा हाम्रो मार्क्सवाद त्यहीँ सकिन्छ ।’

उनले आफ्नै दुःख बाँड्दै भने, ‘परिस्थिति यति डरलाग्दो छ कि मैले चुनाव लड्दा गरेको खर्च अहिले कसैले दिने हो भने यो पदै दिइदिउँजस्तो हुन्छ । यस्तो खालको प्रणालीले हामीलाई कहाँ पुर्‍याउँछ ?’

बैठकमा नेकपाका युवा नेता ठाकुर गैरेले पार्टीको कार्यदिशा थप स्पष्ट हुनुपर्ने धारणा राखे । ‘हामीले भनेको सामाजिक न्यायसहितको समाजवाद के हो ? त्यो समाजवाद ल्याउनको लागि हामीले जनताको जनवाद कसरी कार्यान्वयन हुन्छ ? त्यसका लागि सरकारले गर्नुपर्ने काम के हुन् ? यसको लागि पार्टी पहिला जनताको जनवाद सिद्धान्त बोक्ने पार्टी बन्नुपर्‍यो । समाजवाद स्थापना गर्नका लागि पार्टीलाई समाजवादी बनाउनुपर्‍यो ।’

उनले अगाडि थपे, ‘यो प्रतिवेदनमा नेपाली मोडेलको समाजवादको व्याख्या र त्यसको लागि नेपाली समाजको वर्ग विश्लेषण, नेपाली समाजको चरित्रको निर्धारण गर्नुपर्छ । पार्टी र सरकार स्पष्ट कार्यदिशासहित अगाडि बढ्नुपर्छ ।’