दमकमा किड्नीको डायलसिस सेवा
दमक/ दमकमा पहिलो पटक किड्नीको डायलसिस सेवा शुरु हुने भएको छ । रोटरी क्लव अफ दमकले स्थानीय लाइफलाइन अस्पतालसंगको सहकार्यमा कम्तिमा ४ वटा बेडको १ करोडको लगानीमा दमक रोटरी डायलसिस सेवा शुरु गर्न दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको उपस्थितिमा समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको छ ।
क्लवको तर्फबाट क्लवका अध्यक्ष सन्दिप चापागाइ र अस्पतालको तर्फबाट अस्पातलका अध्यक्ष डा.तीलकचन्द्र शाहले दूइ महिनाभित्रमा डायलसिस सेवा शुरु गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको हो । डायलसिस सेन्टरका लागि आवश्यक सबै उपकरणहरु रोटरी क्लव अफ दमकले उपलब्ध गराउने र भौतिक संरचना सहित सञ्चालनको जिम्मेवारी अस्पतालले लिने समझदारी पत्रमा उल्लेख रहेको छ ।
लाइफ लाइन अस्पतालकी मेडिकल डाइरेक्टर डा. खुश्बु प्रीयाका अनुसार डायलसिस सेवा नियमित लिनु पर्ने किड्नीका विरामीहरु दमकबाट धरान, कामण्डौ र भारतका बिभिन्न अस्पताल जानु पर्ने अवस्थाको अन्त्य हुनेछ । पछिल्लो समयमा धेरै विरामीहरुमा किड्नीको समस्या देखिदै आएको उहाँले जनाउनु भयो । दमकका लागि यो अत्यआवश्यक रहेको थियो र सकेसम्म छिटो शुरु गर्नुपर्छ, उहाँले भन्नुभयो ।
रोटरी क्लव अफ दमकका पुर्व अध्यक्ष एवं लाइफलाइन अस्पतालका डा.मुक्ति भट्टराइले दूइबर्षको अथक प्रयास पछि यो सम्भव भएको बताउदै अव किड्नीका विरामीहरुले बाहिर गएर पालो कुरेर डायलसिस गराउनु पर्ने बाध्यता अन्त्य हुने बताउनु भयो । उहाँले यसका लागि रोटरी र अस्पतालले १ करोडभन्दा माथिको लगानी गरेको पनि सो अवसरमा जानकारी दिनु भयो ।
पैसा नहुनेलाइ पनि सेवा
सो अवसरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले किड्नीको डायलसिसका लागि भनेर दिनहु विरामीहरु आएर नगरपालिकाले सिफारीस लाने गरेको जनाउनु भयो । किड्नी र क्यान्सरका विरामीहरु बढ्दै जाँदा धेरै चिन्ता थपिएको उहाँको भनाइ थियो । अब यहि डायलसिस सेवा भएका कारण विरामीको समय र आर्थिक बचत हुनेछ, नगर प्रमुख ओलीले भन्नुभयो ।
ओलीले सस्तो र सरल रुपमा यो सेवा दिनु पर्ने बताउदै यसमा स्थानीय सरकारले पनि सहयोग गर्ने जनाउनु भयो । संघीय सरकारले पनि यसका विरामीलाइ सहयोग गर्दै आएको भन्दै स्थानीय सरकारले पनि सहयोग गर्ने उल्लेख गर्नु भयो । कोहिसंग एक पैसा पनि छइन भने त्यो विरामीलाइ नगरपालिकाले बचाउछ र सहयोग गर्छ, उहाँले भन्नुभयो । यस विषयमा नगरपालिकाले के गर्नुपर्छ त्यो गर्न तयार छ र यस बिषयमा कार्यविधि बनाएर अघि बढ्न म सुझाव दिन्छु, ओलीले भन्नुभयो ।
मोहन ढकाल र सागर श्रेष्ठको महतवपूर्ण भुमिका
यो प्रोजेक्ट ल्याउनका लागि निवर्तमान अध्यक्ष मोहन ढकाल र रोटरीयन सागर श्रेष्ठको महत्वपुर्ण भूमिका भएको सो अवसरमा बताईएको थियो । सन् २०२० का अध्यक्ष सन्दिप चापागाइ दीपुले सबैको अथक प्रयास र सहयोगका कारण दमकबासीले यो सेवा चाँडै पाउनेमा आफु आशाबादी रहेको जनाए ।


