२०८३ कार्तिक ११, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

भद्रपुर । झापाको भद्रपुर र काँकडभिट्टामा लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर ५ स्थित बजारमा विशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएका प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे १ च ६६१४ नम्बरको पिकअप भ्यानलाई चेकजाँच गर्ने क्रममा भ्यान चालक बिर्तामोड ८ बस्ने ३० वर्षीय सुरेश सुबेदीलाई ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको हो । पक्राउ परेका सुवेदीलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालय झापामा राखिएको जनाइएको छ ।

त्यस्तै मेचीनगर ६ स्थित भन्सार मुलगेट लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को ९ प ३६३१ नम्बरको मोटरसाइकलमा सवार दमक १ बस्ने २५ वर्षीय रूपक पौदार र पछाडि सवार इलाम चुलाचुली गाउँपालिका ४ बस्ने २७ निशान राईले मोटरसाइकलको ट्याङ्की भित्र प्लास्टिकको पोकोमा ल्याएको अन्दाजी २६ ग्राम खैरो होरोईनसहित फेला पारेको हो । यता लागु औषधसहित पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जनाइएको छ ।