मुख हेरेर नभएर घरमा खाने अन्न नै नभएका गरिबहरुले मात्र पाउने गरी विवरण ल्याउनुपर्छ-गणेश तिम्सिना
दमक / दमक नगरपालिकाले अति विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्ने बर्ग तथा घरमा चामल तथा खानेकुरा नपाएका परिवारको लगत संकलन गरेर राहत दिन विवरण संकलन गर्ने क्रममा नाम धेरै आएको पाईएको जनाईएको छ । कोरोना भाइरसको त्रासका कारण भएको लक डाउनले समस्यामा परेकाहरुलाइ खाद्यन्न नगरपालिकाले उपलब्ध गराउन लागेको हो ।
मध्यमबर्गीय तथा खासै समस्यामा नपरेकाहरुले समेत राहतका लागि ईच्छा प्रकट गरेको पाईएपछि विवरण सच्याउन निक्कै मुश्किल भईरहेको एक वडाध्यक्षले प्रभावकारी न्यूजलाई बताएकाछन् । भोली मंगलवारदेखि नै अति विपन्नको घरमा राहत पुग्ने छ ।
दमक नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाले विवरण संकलन गर्दा राज्य तथा स्थानीय सरकारले तोकेको मापदण्डभित्र पर्नेको नाम ल्याउनु पर्नेमा जोड दिएकाछन् । मुख हेरेर नाम समावेश गरियो भने खान नपाउने हरुको भाग काटिने भन्दै समस्यामा परेकाहरुको नामवली ल्याउन आग्रह गरेकाहुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन्-
वडापदाधिकारीज्यूहरु!!
राहत वितरणका लागि लगत संकलन गर्दा घरमा खाने अन्न नै नभएका गरिबहरुले मात्र पाउने गरी संकलन गर्नु होला। मुख हेरेर नाम समावेश गरियो भने खान नपाउने हरुको भाग काटिने छ भन्ने कुरामा ध्यान पुर्याउनु होला ।
