हेलो सरकार ! सरकारी दमक अस्पतालमा चाँडो आइसियू र भेन्टिलेटर ब्यवस्था गर
विष्णुप्रसाद पोखरेल
झापा भारतसंग सिमा जोडिएको जिल्ला । भारतमा अहिले कोरोना भाईरसको संक्रमण फैलिदो अवस्थामा रहेको छ । लुकिछिपी अहिले भारतीय नागरिक तथा त्यहाँ रहेका नेपालीहरु आउने क्रम जारी रहेको छ । जसले झापा जिल्ला नै उच्च जोखिममा रहेको छ भन्दा फरक नपर्ला । तर अहिलेसम्म यो संक्रमण जिल्लामा कसैमा पनि छैन । यहि अवस्था रहोस सबैको कामना छ ।
दमकमा सुविधा सम्पन्न सरकारी स्वास्थ्य केन्द्र तथा अस्पताल छैन । पछिल्लो समयमा दमक स्वास्थ्य चौकी स्तरउन्नती भएर सरकारी अस्पताल सो सरहको दमक अस्पताल भने दुखका साथ सञ्चालन भईरहेको छ । आइसोलेसन वार्ड सहित अहिले ज्वरो क्लिनिक सञ्चालन भएको दमक अस्पतालमा भेन्टिलेटरको ब्यवस्था छैन । आईसियु छैन ।
दमकमा नै अन्तराष्ट्रिय आप्रवास सम्बन्धिको संगठन आईओएमको सुविधा सम्पन्न ल्याव छ । जहाँ कोरोना भाइरस जाँचको सम्भावाना रहेको बताइदै आएको छ । स्वीकृतीका लागि पहल भएको पनि सार्वजनिक भएको छ । अब दमक अस्पतालमा आइसियु तथा भेन्टिलेटर हुने हो भने कोहिमा कोरोना सक्रमण भएको अवस्थामा कहाँ लैजाने र के गर्ने भन्ने चिन्ता हुने छैन ।
यस बिषयमा दमक नगरपालिका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले प्रदेश सरकारसंग नगरपालिकाको तर्फबाट माग गरेको बताइन्छ । यसलाई प्रदेश सरकार र केन्द्र सरकारले गम्भिरताका साथ लिनुपर्दछ । यो अस्पताललाइ पनि सुविधा सम्पन्न बनाउनु पर्दछ ।
सर्वसाधरण अन्य विरामी हुँदा समेत नीजि अस्पतालमा महगो शुल्क बुझाउनु पर्छ । आईसियुको बेडसंख्या पनि न्यून छ । १० देखि १५ जनाभन्दा बढिको क्षमता पनि छैन । भेन्टिलेटरको संख्या त झन् कम रहेको छ । यस्तो अवस्थामा ढिलाइ नगरी दमकको सरकारी अस्पतालमा आइसियू र भेन्टिलेटरको ब्यवस्था गर्नु जरुरी छ ।
आज मात्र स्थानीय तहहरुलाइ जिल्ला प्रशासन कार्यालय झापाले गरेको परिपत्र अनुसार अब क्वारेन्टाइनमा रहेका सबैको किट मार्फत कोरोना जाँच हुनेछ । यदि पोजेटिभ देखिएको अवस्थामा अस्पतालमा राखेर उपचार गर्न भनिएको छ । यस्तो अवस्थामा धेरै भेन्टिलेटरहरुको आवश्यकता हुनसक्छ । के मेची अञ्चल अस्पतालको भेन्टिलेटरले मात्र पुग्ला ? समयमा नै ध्यान जाओस ।
