२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ७ वर्ष अगाडि

दमकमा लकडाउन अवधिभर मोटरसाइकल लगायतका कुनै पनि सवारी साधन चलाउने नपाउने निर्णय

विष्णुप्रसाद पोखरेल

दमक/ झापाको दमकमा लकडाउन कडा बनाउने निर्णयसंगै आजदेखि अत्यआवश्यक बाहेक कुनै पनि सवारी साधन कुदाउन नपाईने जनाईएको छ । बुधबार नगरपालिकामा यस बिषयमा निर्णय भएको थियो । राजनीतिक दल लगायतका सरोकारवालाहरुको सहभागितामा यो निर्णय भएको हो ।

मोटरसाईकल लगायतका सवारी साधनहरु कुद्दै आएकोमा अब भने यसमा कडाई हुने भएको हो । अनुमति बेगर तरकारी, फलफुलका सवारी साधन पनि कुदाउन नपाईने निर्णय भएको जानकारी गराईएको छ । हामी अब कडा रुपमा नै प्रस्तुत हुन्छौ यसर्थ लकडाउन पालना गर्न सबैमा अनुरोध छ, इलाका प्रहरी कार्यालय दमकका प्रमुख बिजयराज पंण्डितले भने ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले यो पालना गर्न अनुरोध गरेकाछन् । यो हामी सबैको स्वास्थ्यका लागि र दमकलाई जोखिम हुनबाट रोक्नका लागि गरिएको निर्णय भएकाले पालना गर्नुपर्छ, नगर प्रमुख ओलीले भने । आजदेखि नै दमक पुर्ण रुपमा बन्द हुनेछ । शनिवार र बुधबार दैनिक ३ घण्टामात्र खुला रहने छ । अत्यआवश्यकीय सवारी साधनलाई पनि यो निर्णयले कुनै फरक नपार्ने पनि बताईन्छ ।

बाहिरबाट फलफुल, तरकारी, दुध लगायतका सामाग्रि ल्याउन पनि रोक लगाईएको छ । सडकमा घुमाएर विक्री गर्नका लागि नगरपालिकासंग अनुमति माग्नु पर्ने ब्यवस्था गरिएको बताईन्छ । यो आजैबाट लागु हुने छ । दमकमा पहिलो पटक लकडान यति कडा पार्ने निर्णय भएको हो ।

फलफुल तथा तरकारी, दैनिक उपभोग्य सामाग्रि ल्याएको भन्दै भारतीयहरु समेत दमक छिर्ने गरेका कारण यहाँ जोखिम बढेको र यसलाई रोक्नुपर्ने जनस्तरबाट नै माग उठेकाले यस्तो निर्णय लिईएको पनि छलफलमा सहभागि एक राजनीतिक दलका नेताले बताए ।

दमक नगरपालिकाले गरेका निर्णयहरु यस्ताछन्

दमक नगरपालिका

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको अत्यन्त जरुरी सूचना !

 

  • अत्यावश्यक दैनिक खाद्य सामग्री खरिद विक्रीका लागि शनिबार र बुधबार दिउँसो ११:०० बजेदेखि २:०० बजेसम्म हप्तामा २ दिन मात्र पसल खुल्ला गर्न पाइनेछ ।
  • दमक बाहिरबाट तरकारी, फलफूल, दूध, माछामासु आयात गरी विक्री वितरण गर्न पाइने छैन ।
  • तरकारी, फलफूल, दूध होम डेलिभरी गरी विक्री गर्न पाइनेछ । डेरी पसल मात्र भए विहान ७:०० देखि ८:०० बजेसम्म १ घण्टा मात्र दैनिक विक्री गर्न पाइने छ ।
  • लकडाउन अवधिभर मोटरसाइकल लगायतका कुनै पनि सवारी साधन चलाउन पाइने छैन ।
  • कृत्रिम अभाव सिर्जना गर्ने, अस्वभाविक मूल्य वृद्धि गर्ने र मूल्य सूची नराख्ने व्यापारीलाई कानूनी कारबाहीको प्रक्रिया अघि बढाइनेछ ।
  • ढाट वा तगारो राखी सडक अवरोध गर्न नपाइने हुँदा तत्काल हटाउनु पर्नेछ।
  • उपरोक्त अनुसारका व्यवस्थाहरु पालना नगर्ने उपर कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।