२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

मैले जे देखे त्यहि लेखे

विष्णुप्रसाद पोखरेल

दमक / हामी नेपाली यति धेरै कठिन परिस्थितिमा जुधिरेहेका छौ की हाम्रो मृत्यु कतिखेर हो थाहा छैन । किनकी कोरोना भाइरसको संक्रमणसंग विश्वका महाशक्ति राष्ट्रहरु समेत हारेकाछन् । हामीले जित्ने कल्पना गर्नु दिवस्वप्न बाहेक केहि पनि हुन्न् । धन्न अहिलेसम्म नेपालमा कोरोना संक्रमण फैलिएको छैन ।

हामी लकडाउनमा अर्थात बन्दाबन्दीमा छौ । घरबाटबाहिर निस्कन डराउनु पर्ने अवस्था छ । कतिपय नेपाली भोकभाकै मर्नु पर्ने अवस्था रहेको छ । मानिसहरु तड्पिएर बसेकाछन् । यदि साच्चै कोरोना संक्रमण फैलियो भने के तयारी छ त ? केहि छैन । यसले गर्दा बाचिने आशामा कोठामा कोचिएर हामी नेपाली बसेका छौ । तर हाम्रो नेतृत्व गर्ने, देशको नेतृत्व गर्ने नेताहरुलाई भने शक्ति र कुर्सिको लोभमा दौडन फुर्सद छैन ।

अब त स्थायी सरकार आयो, मूलक अस्थिर बन्यो भन्ने लागेको थियो । तर वास्तवमा नेताहरु यदि निर्दयी र पापि रहेछन् की यो समयमा जे गर्नुपर्ने हो त्यो नगरेर अराजकता र अस्थिरता ल्याउन तल्लिन रहेकाछन् । यो समयमा न अध्यादेश ल्याउने समय थियो न त त्यो देखाएर सत्ता परिवर्तन खेल गर्ने समय हो । यो त एउटा दुर्भाग्य हो । अक्षम्य अपराध हो । कोरोना विरुद्ध जुध्ने यो बेलामा कुर्सिको लडाई लडन किन लाज नभएको होला ?

आखिर यो मूलक सिमित नेताहरुको रजाई गर्ने स्थलभन्दा माथि केहि नहुने रहेछ । हामी नेपालीहरुले केहि परिवर्तन महसुस गर्न नपाइने रहेछ । यस्तो अवस्थामा त कुर्सिमा लडाई गर्नेहरुबाट हामीले के नै अपेक्षा गर्न सक्छौ र ? त्यसै पछिल्लो समयमा राजतन्त्र नै राम्रो भन्ने बहस चलेको होइन रहेछ ।

धेरै राजाभन्दा एउटै राजा ठिक भन्ने त्यसै भनिदै रहेनछ । किनकी अहिले राजनीतिक दलका नेताले देखाएको नौटंकीका कारण अब अहिलेको राजनीतिक प्रणालीमा नै बितृष्णा जाग्न थालेको छ । यद्यपी म गणतन्त्रबादी हो । जनतन्त्रबादी हुँ । लोकतन्त्रबादी हुँ ।  राजतन्त्र चाहिन्छ भन्ने पक्षमा छैन र यो सम्भव पनि होइन । तर निर्वाचन हारेकाहरुलाई र सांसद नै नभएकाहरुलाई प्रधानमन्त्री बनाउने सम्मका बहस हुनु भनेको के हो ? यो कुन प्रणाली हो ? यसको जवाफ कोसंग होला ?

भोक, शोक र रोगले थलिएका हामी नेपालीमाथि अहिले राजनीतिक दलका नेताले दिएको उपहार भनेकै मानसिक हिंसा हो । यो राजनीतिक कृयाकलापले कोरोना संक्रमणको त्रासमा बाँचेका हामी नेपालीलाई अर्को त्रास दिएको छ । अब मूलक अस्थिरता तर्फ उन्मूख हुन खोज्दैछ । फेरी पुरानौ कुर्सिको लुछाचुडीमा देश जाँदैछ । बर्बादीतिर राजनीतिक संस्कार प्रेरित भइरहेको छ । अब जम्मा आशा र भरोसा भनेको नै भगवान पशुपति नाथ बाहेक कोहि छैन ।