२०८३ कार्तिक १०, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाका उद्योगि ब्यवसायीहरुले लकडाउनबाट पीडित ब्यवसायीहरुका लागि साझा माग तयार पारेकाछन् । सरोकारवाला निकायहरुले तत्काल माग सम्बोधन गर्नु पर्ने उनिहरुको माग रहेको छ । मंगलवार झापाको बिर्तामोडमा संयुक्त छलफल भएको थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, केशवराज पाण्डे, महासंघ प्रदेश १ समितिका सदस्य कुमारमणि पोखरेल, बलराम कार्की, प्रकाश शिवाकोटी सहित झापाका अधिकाँश बाण्ज्यि संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको छलफलमा प्रकाश शिवाकोटी, झापा उद्योग वाणिज्य संघका अध्यक्ष नवराज पनेरु, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, मेची उद्योग वाणिज्य संघका अध्यक्ष ऋषि तिम्सिना, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमिरिया, शिवसताक्षी उद्योग वाणिज्य संघका अध्यक्ष भोला मैनाली, गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष जीतबहादुर कार्की, बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र चापागाई, बाह्रदशी उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र कार्कीले आफ्ना भनाई राखेका थिए ।

यस्ता छन् साझा निष्कर्ष र निर्णयहरु

१, उद्योग उद्योगी व्यवसायीहरुले बैंकबाट लिएको ऋणको व्याजका सन्दर्भमा नाफा र नोक्सानरहीत ढंगले विज्ञहरु राखेर उचित व्यवस्थापन गरी व्याज छुट गर्न माग गर्दछौं । साथै बैंकले लिने सेवाशुल्क, नवीकरण शुल्क छुटका साथै स्प्रेड दर दुई प्रतिशत कायम गर्न माग गर्दछौं । बैंक तथा वित्तीय संस्थालाई सेवामुखी बन्न र बनाउन ध्यानाकर्षण गराउँदछौं ।
साथै, उद्योगी व्यवसायीको क्षतिको अवस्था मूल्यांकन गरी विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछों ।

२, उद्योग व्यवसाय सञ्चालन भएका घर भवनका सन्दर्भमा लकडाउन अवधिको घर भाडा पूर्ण छुटका लागि सरकारको ध्यानाकर्षण गराउँदछौं । साथै घरधनीलाई घरवहाल काममा विशेष छुट दिन आग्रह गर्दछौं । साथै उद्योगी व्यवसायीलाई लकडाउन अवधिको विद्युत् अतिरिक्त शुल्क र डिमाण्ड शुल्क छुट दिन माग गर्दछौं ।

३, मेची भन्सारलाई आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरी तत्काल सुचारु गराउन तथा लकडाउन अवधिभर रोकिएका मालवहाक गाडीको भन्सार पार्किङ शुल्क छुटका लागि माग गर्दछौं ।

४, संकटको यस घडीमा आम उपभोक्ताको अधिकारप्रति सजग रहँदै बस्तुहरुको आपूर्तिलाई सहज बनाउन प्रतिबद्ध छौं । यथार्थ नबुझि उद्योगी व्यवसायीलाई लाञ्चित गर्ने कार्यप्रति सरोकारवालाको ध्यानाकर्षण गराउँदै बजार अनुगमन गर्दा सम्बन्धित क्षेत्रका उद्योग वाणिज्य संघसँग सहकार्य र संस्थाका प्रतिनिधिसहितको सहभागितामा अनुगमनका लागि ध्यानाकर्षण गराउँदछौं । यस कार्यमा हामी सहयोग र सहकार्य गर्न तयार छौं । साथै बजारलाई व्यवस्थित सञ्चालनका लागि सम्बन्धित क्षेत्रका उद्योग वाणिज्य संघसँग समन्वयका लागि जिसस, जिल्ला प्रशासन, प्रहरी, स्थानीय सरकारको ध्यानाकर्षण गराउँदछौं । साथै संकटको यो घडीमा अनुचित लाभ लिने कुनै पनि गतिविधि नगर्न आम व्यवसायीमा आव्हान गर्दछौं ।

५, कृषकका उत्पादन खेतबारीमै कुहिने तथा लगानी डुब्ने अवस्थालाई मनन गरी कृषि उत्पादन बजारसम्म ल्याउन सरोकारवालासँगको समन्वयमा सहजीकरणका लागि हामी प्रतिबद्ध छौं । साथै कृषकलाई अनुदान, आवश्यक मल, वीऊ, इन्धन लगायतका सामग्री तत्काल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउँदछौं ।

६, झापामा कोरोना भाइरस संक्रमण देखिएको र रेडजोनमा परेको सन्दर्भमा जिल्लामै तत्काल पीसीआर परीक्षणको व्यवस्था गर्न, परीक्षणको दायरा बढाउन तथा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि आवश्यक स्वास्थ्य सुरक्षा सामग्री तत्काल उपलब्ध गराउन, महामारीको सम्भावित जोखिमलाई मध्यनजर गरी संक्रमितको उपचारको भरपर्दो र पर्याप्त व्यवस्था गर्न तीनै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछौं ।

७, उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा कार्यरत मजदुर, कर्मचारीको तलब–भत्ता वर्तमान परिस्थिति मनन गरी सहज बनाइदिन सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउँदछौं ।

८, लकडाउनका कारण झापाका विभिन्न क्षेत्रमा समस्यामा परेका भारतीय मजदुर र भारतीय सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरी जान र आउन दिने वातावरण मिलाउन सरकारको ध्यानाकर्षण गराउँदछौं ।

९, कोरोना महामारीपछि विदेशबाट नेपाल फर्कने नेपाली युवाहरुलाई स्वदेशमै रोजगारी, उद्यमको आवश्यक व्यवस्थापनको तयारी गर्न सरकारको ध्यानाकर्षण गराउँदछौं ।

१०, उद्योगी व्यवसायीका समस्या तथा मागहरुमध्ये प्रदेश तथा संघीय सरकारबाट सम्बोधन गर्नुपर्ने विषयमा तत्काल प्रभावकारी पहलका लागि नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय समितिलाई आग्रह गर्दछौं । स्थानीय प्रशासन तथा स्थानीय सरकारबाट सम्बोधन गर्नुपर्ने समस्या तथा माग तत्काल पूरा गर्न ध्यानाकर्षण गराउँदै सम्बन्धित क्षेत्रका उद्योग वाणिज्य संघले सरोकारवालासँगको भेला छलफलबाट यस विषयलाई सहज बनाउन पहल थाल्ने निर्णय गरियो । समस्या समाधान र पहलका लागि उद्योग वाणिज्य संघहरुको नियमित संयुक्त बैठक, छलफल जारी राख्दै सामुहिक रुपमा यस विषयमा ध्यानाकर्षण तथा माग सम्बोधन गर्न तीनै तहका सरकार, प्रशासन समक्ष ज्ञापन पत्र बुझाउने निर्णय गरियो ।