कोरोना संक्रमणको त्रासबाट मुक्त हुँदै दमकबासी
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा एकजनामो कोरोना पोजेटिभ देखिएपछि दमकबासीमा एक प्रकारको सन्त्रास पैदा भयो । दमक ३ स्थित कोरोना संक्रमित रहेको आसपासको क्षेत्रका स्थानीयहरु त केहि दिन निदाउन पनि सकेनन् ।
अझ संक्रमितको सम्पर्कमा पहिलो घेरामा नै ५० भन्दा बढि ब्याक्तिहरु आएको थाहा भएपछि झनै स्थानीय डराए । दमकबासी नै चिन्तित भए ।
तर दुइपटकसम्मको जाँचमा पनि थप कसैमा पनिक कोरोना संक्रमण नदेखिएपछि भने दमकबासी अब केहि ढुक्क रहेकाछन् ।
वडा नं. ३ पनि सामान्य अवस्थामा फर्केको छ । हरेकले जाँच गरिनुपर्ने माग राखेका थिए । तर थप कसैमा पनि कोरोना संक्रमण नदेखिएपछि भने त्यो माग कम हुँदै गयो ।
शत प्रतिशत जोखिम कम भयो भन्ने नरहेपनि पहिलो चरणको जोखिमबाट सबै मुक्त देखिएको अवस्था छ ।
स्वास्थ्यकर्मीहरुका अनुसार अझै पनि सतर्क र सजग रहनु पर्छ । सामाजिक दुरी कायम राखेर आफ्ना गतिविधिहरुलाई अघि बढाउनु पर्दछ । केहि यस्ता उदाहरण पनि छन् दूइपटक जाँच गरेर तेश्रो पटकमा मात्र पनि पोजेटिभ देखिएको अवस्था पनि छ ।
दमक नगरपालिका स्वास्थ्य शाखाका अनुसार विदेशबाट आउने र सम्भावित जोखिम समुहलाई निगरानी कायम राखिएको छ । स्वास्थ्यको नियमित रुपमा अनुगमन भइरहेको छ । समयमा सावधानी अपनाईएका कारण नै संक्रमण फैलन पाएको छैन ।
नगरपालिकाको पछिल्लो अपडेट अनुसार मानसरोवर कलेजको क्वारेन्टाईनमा ११ जना तथा दमक नगरपालिका वडा नं ६ स्थित जामे मस्जिदमा १४ जना गरी जम्मा २५ जना क्वारेन्टाइनमा रहेकछन् । उनिहरुको अवस्था सामान्य छ ।
निजहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। दमक अस्पतालको आइसोलेसनमा साविककै पुरुष १ र महिला २ गरी जम्मा ३ जना रहेकाछन् र उनिहरुको पनि सामान्य अवस्था छ ।
