क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु
नेपालगञ्ज, जेठ ४ । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको आज बिहान मुत्यु भएको हो । जनता टाइम्स अनलाइनले लेखेको छ ।
नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक मोइन खानका अनुसार एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको हो । उहाँका अनुसार बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्युु भएको थियो ।
क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले रातिदेखि स्वास्थ्यमा समस्या देखिएकामा बिहान करिब ६ बजे युवकको मृत्यु भएको जानकारी दिनुभयो । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरिसकिएकाले आजै रिपोर्ट आउने उहाँको भनाइ छ ।
