जोखिम बढ्दो छ तर दमक साच्चै अटेरी ! खोई टोल विकास संस्था ? आफ्नो टोलमा लकडाउन पालना गराउन लाग्नु पर्दैन ?
मैले जे देखे त्यहि लेखे
विष्णुप्रसाद पोखरेल
दमक/ नेपालमा कोरोना संक्रमणबाट मानिसहरुको मृत्यु हुन शुरु गरेको छ । २ जनाको ज्यान गएको छ । छिमेकी जिल्ला मोरगमा पनि कोरोना भाइरसका विरामी थपिएकाछन् । झापामा रातको समयमा भारतबाट नेपालीहरु पनि आएको सिसि क्यामेरा फुटेजहरु आएको छ । दमकमा भारतीय तरकारी आउने क्रम रोकिएको छैन । आफै सोचौ हामी कति जोखिममा छौ ।
दमकमा अचम्म र उदेक छ । यहाँ लकडाउन नै पालना भएको छैन । आधा सटर खोलेर प्रहरी कार्यालय छेउ, दमक नगरपालिका कार्यालय छेउ र प्रहरी तथा स्थानीय सरकार एवं प्रशासनको सहज पहुच र आसपासमा खुलेआम पसल खुलेकाछन् । समय निर्धारण गरिएको र जोरबिजोरको त कुनै मतलव छैन । तर के यि निकायको लागि मात्र हो त ? स्वास्थ्य सुरक्षा सबैको लागि हो । तर खोई टोल विकास संस्था ? आफ्नो टोलमा लकडाउन पालना गराउन लाग्नु पर्दैन ?
प्रहरीको गाडि आँउदा सटर तान्ने र गाडि गएपछि खोल्ने गरिएको देखियो । विशेष गरेर दमक फर्निचर लाइनदेखि नमुना बजार, पुरानो सुर्ती लायनमा त लकडाउनमा कुनै दिन पनि पुर्ण रुपमा पसलहरु बन्द भएका छैनन् । यदि त्यहाँ आसपासमा सिसि क्यामेराका फुटेजहरुछन् भने हेरे हुन्छ ।
कस्तो अचम्म छ दमकमा । ब्यवसायीको नेतृत्व गरेका अगुवा तथा संस्थाहरुले लकडाउन कडा गर्दिनु पर्यो, असुरक्षा भयो भन्दै स्थानीय सरकार गुहार्छन् । तर अरुलाई मतलव छैन । न जाँच छ न त सावधानी । जाँचको दायरा नै नबडाई यहाँ संक्रमित र जोखिम छैन भनेर होला सायद वास्ता नगरिएको । तर यसले असुरक्षित बनाएको छ दमक । यसमा दोषी तपाई हामी सबै हौ । भोली कोरोना फैलियो भने यसमा फेरी गालि गर्ने स्थानीय सरकार र प्रशासनलाई हो । हेल्चेक्राई र बेवस्था गर्ने हामी हौ ।
तर स्थानीय सरकार र प्रशासनले पनि निर्णय गरेपछि कार्यन्वयन गर्न त लाग्नु पर्छ नी, हैन र ? नत्र किन निर्णय गर्नु ? निर्णय कार्यन्वयन गर्ने र नगरे कार्वाही गर्ने अधिकार त छ । अब मूलक र हामी सबै कोरोना संक्रमणको गम्भिर संकटमा परेकाछौ । हेल्चेक्राई नगरौ । सचेत बनौ । लकडाउनको पालना गरौ । कोरोनालाई परास्त गरौ ।

