भद्रपुरका एक जनामा कोरोना संक्रमण पुष्टि
भद्रपुरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भद्रपुर नगरपालिका ५ स्थित शङ्कर टोल बस्ने ३७ वर्षीय पुरुषमा कोरोना भेटिएको हो । कलवलगुरी प्रशिक्षण केन्द्रको क्वारेनटाइनमा बसेका उनी जेठ ७ गते भारतको मुजफरपुरबाट आएका थिए ।
भद्रपुर गलगलिया नाकाबाट लुकिछिपी प्रवेश गरेका उनलाई सोजै क्वारेनटाइनमा लगेर राखिएको थियो । क्वारेनटाइनमा बसेका उनको स्वाब सङ्कलन गरी पीसीआरका लागि कोसी अस्पताल विराटनगरको प्रयोगशालामा पठाएको थियो । पीसीआर परीक्षणमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।
योसँगै झापाका कोरोना संक्रमित हुनेको संख्या ८० पुगेको छ । बिहीबार मात्रै झापाको कचनकवलमा २५ जनामा संक्रमण पुष्टि भएको थियो ।
