२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ लकडाउनको मौका छोपेर मुल्य वृद्धि भएको पाइएपछि प्रशासनले झापाको बिर्तामोडस्थित एक पसल सिल गरेको छ । बिर्तामोड–५ स्थित हिकोला रोडमा रहेको पशुपती ट्रेडिङ सेन्टरले सुर्तीजन्य पदार्थको बिक्रीमा अत्याधिक मुल्य असुलेको पाइएपछि प्रशासन र घरेलु कार्यालय झापाको टोलीले पसल सिल गरेको हो ।

स्थानीय उपभोक्ताबाट प्रति बन्डल २ हजार ४ सय ९५ रुपैयाँ पर्ने सूर्य चुरोटलाई २ हजार ७ सय र १ हजार ७ सय ५० पर्ने खुकुरी चुरोटलाई २ हजार १ सय रुपैयाँ असुलेको पाइएपछि उपभोक्ताले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए । मुकुन्दप्रसाद रिजालको नेतृत्वको प्रहरी टोलीले जिल्ला प्रशासन कार्यालय झापा र घरेलु कार्यालय झापासँगको समन्वयमा सो पसलको अनुगमन गरेको बताईएको छ ।

सोहि पसलमा प्रतिबन्धित भारतीय रजनीगन्धा ठुलो परिमाणमा फेला परेपछि आवश्यक कारवाही प्रक्रियाका लागि तत्काल पसल शिल गरिएको घरेलु कार्यालय झापाका निमिक्त प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।  यसैबीच दमकमा पनि अधिक मूल्य लिएर विक्री भएपनि कार्वाही हुन सकेको छैन । चुरोट लगायत सुर्तीजन्य पदार्थको अधिक भाँउ बृद्धि भएको छ । बजारमा यसको कालोबजारी भइरहेको छ ।