२०८३ कार्तिक ९, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक/ नेपाल सरकारले लगातार लागुगर्दै आएको बन्दाबन्दी आगामी जेठ ३२ गते सम्म थप गरिएको कारण समस्या झन जटिल भएको अवस्थामा सरकारले ब्यवसायीहरुलाई कर तिर्न गरेको सूचनाप्रति झापाका ब्यवसायीका नेताहरुले आक्रोश पोख्दै त्यो तिर्न नसकिने बताएकाछन् ।

आन्तरिक राज्वस्व कार्यालय, कर कार्यालय पनि बन्द भएको अवस्थामा अहिले अचानक सूचना निकालेर ब्यवसायीहरुलाई मानसिक तनाव दिने काम भएको भन्दै ब्यवसायीहरुले यो कार्य तत्काल फिर्ता लिन पनि आग्रह गरेकाछन् ।सोमबार मेचीनगर उद्योग बाणिज्य संघको आयोजनामा आयोजित जिल्लाका बाणिज्य संघका अध्यक्ष तथा पदाधिकारीहरुको छलफलमा एक स्वरमा ब्यवसायीहरुले लकडाउनको मारले ब्यवसायीलाई आघात परेको समयमा सरकारले झन् तनाव दिएको निष्कर्ष निकालेकाहुन् ।

कर विबरण तथा कर बुझाउने सुचना अनुसार करदाताहरुले आवधिक रुपमा फागुन तथा चैत्र महिनाको कर आय विवरण तथा उक्त विवरण अनुसार भुक्तानी गर्नुपर्ने आयकर मुल्यअभिवृद्धी कर तथा अन्तशुल्क लगायत सबै प्रकारका कर तथा शुल्क यही जेठ २५ गते भित्र दाखिला गर्नुपर्ने सूचना आएको थियो।

अन्याथा थप दस्तुर जरिवाना तथा ब्याज समेत लाग्ने भन्ने विषयमा गम्भिर ध्यान आर्कषण भएको र अव्यवहारिक निर्णयलाई तत्काल खारेज गर्न जोडदार माग गरिएको दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए । ब्यवसायीले लकडाउन कायम राखेमा जेठ २४ देखि झापामा स्वतस्फूर्त रुपमा ब्यापार ब्यवसाय खुला गर्ने पनि निर्णय भएको छ ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषीराज तिम्सिनाको अध्यक्षतामा आयोजित छलफलमा झापाका १४ वटा उद्योग बाणिज्य संघ मध्ये ९ वटा संघका पदाधिकारीहरको उपस्तिथी रहेको थियो, छलफलमा बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र चापागाइँ, बिर्तामोड उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष प्रकाश सिवाकोटीले बोलेका थिए ।

झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकाल, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, झापा उद्योग बाणिज्य संघका बाणिज्य उपाध्यक्ष सन्तोष धमला, मेची उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन, कमलनगर उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ भण्डारी, शिवसताक्षी उद्योग बाणिज्य संघका अध्यक्ष भोला मैनाली, दमक उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष प्रकाश प्रसाईलगायतले लकडाउनको मारको बिषयमा आफ्ना धारणा राखेका थिए ।