लामो कसरतपछि दमकमा विश्वको अग्लो मूर्ति निर्माण शुरु हुँदै
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमक ३ मा विश्को अग्लो बुद्ध मूर्ति तथा बुद्ध भिलेज निर्माणको काम अब भने अघि बढ्ने भएको छ । जग्गाको स्वामित्व बुद्ध मूर्ति निर्माणका लागि नगरपालिकामा नआँउदा काम अघि बढ्न सकेको थिएन । वनको स्वामित्वमा रहेको जग्गामा बुद्ध मूर्ति निर्माणको प्रस्ताव रहेको थियो ।
बुधवार दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बुद्ध मुर्ति निर्माणस्थलको घेराबाराको कामको शिलन्यास गरेकाछन् । यसका लागि सरकारले चालु आर्थिक बर्षमा खर्च गर्ने गरी १ करोड रकम बिनियोजन समेत गरेको छ । टेण्डर प्रक्रियाबाट काम शुरु भएको जनाईएको छ ।
प्रधानमन्त्रि केपी शर्मा ओलीको प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीको विशेष पहल र दमक नगरपालिकाको सक्रियतामा वन क्षेत्रको थप २० विगाह जमिन बुद्धमूर्तिका लागि प्राप्त भएपछि यो काम अघि बढेको जनाईएको छ । त्यो भन्दा अघि ७ विगाह जग्गाकोमात्र ब्यवस्थापन भएको थियो ।
स्थानीय सरकारको रुपमा दमक नगरपालिका,प्रदेश सरकार र संघीय सरकारले नै वन क्षेत्र बुद्धमुर्ति निर्माणका लागि पास गरेकाहुन् । वन तीनवटै सरकार मातहतमा रहेको छ । वडाध्यक्ष नविन बरालका अनुसार लामो समयअघि देखिको सपना अब पुरा हुने चरण शुरु भएको छ ।
बुद्ध मूर्तिको डिपीआर २ बर्ष अघि नै तयार भइसकेको छ। १५ अर्ब ७५ करोडको लागतमा निर्माण हुने उक्त डिपिआरमा उल्लेख छ । लुम्बिनीसम्म आएका पर्यटकलाई दमक ल्याउने दाबी पनि गरिएको छ । मूर्तिसँगै बौद्ध विश्वविद्यालय, पाठशाला र ध्यानकेन्द्र पनि हुनेछ ।
