पसल खोल्दा र किनमेल गर्दा होशियारी अपनाउ, दमकलाई सुरक्षित बनाऔ
विष्णुप्रसाद पोखरेल
दमक/ कोरोना संक्रमणको त्रासका बीच नै झापा सहित दमकमा अधिकाँश ब्यापार ब्यवसाय खुलेको छ । कतिपय पसल तथा ब्यवसाय सञ्चालन गर्दा आधारभूत मापदण्ड अपनाईएको छ तर धेरैमा अहिले पनि पसल अगाडि न साबुन पानीको ब्यवस्था छ न त ह्याण्ड सेनिटाइजरको नै ब्यवस्था रहेको छ ।
अझ दमकको शब्जि बजारमा निक्कै जोखिम देखिन्छ । एकातिर भारतीय फलफुल तथा शब्जि आइरहेको छ अर्कातिर आधरभूत रुपमा न्यूनतम स्वास्थ्य सावधानी समेत नअपनाएको देखिन्छ । यसले निक्कै खतरा र कोरोना संक्रमणको त्रास पैदा भएको देखिन्छ ।
जिल्ला प्रशासन कार्यालय झापा, दमक नगरपालिकाले तोकिएका पसल तथा ब्यवसाय खोल्दा स्वास्थय सावधानी अपनाउन तथा न्यूनतम रुपमा भएपनि सामाजिक दुरी कायम गर्नका लागि सूचना गरेको छ । तर यसको कार्यन्वयन छैन । अनुगमन पटक्कै हुन सकेको छैन ।
सानो हेल्चेक्राइले भोली ठुलो संकट निम्तन सक्छ । दमकमा शुरुवात देखि लकडाउनको पालना भएको छैन । मिचाह प्रवृती देखिएको छ । कतिपय ब्यापारीहरुले कमाउने समयको रुपमा लिए जस्तो गरेर सावधानी नै नअपनाई पसल खुला राख्ने गरेको देखिन्छ । आफु त जोखिममा पर्छन त्यसले अरुलाई पनि जोखिम सिर्जना गर्न सक्छ ।
जसले स्वास्थ्य सावधानी अपनाएको छैन त्यहाँ उपभोक्ताले नजाने हो की ? जसले साबुन पानी तथा ह्याण्ड सेनिटाइजर वा सफाइका लागि आवश्यक सामाग्रि राख्दैन त्यो पसललाई कार्वाही पो गर्ने हो की ? यस विषयमा स्थानीय सरकारको पनि ध्यान जान आवश्यक देखिन्छ ।
