दमकमा पुर्वधार सेवा कर खारेज गर्न दमक उद्योग वाणिज्य संघको माग
विष्णुप्रसाद पोखरेल
दमक/ दमक उद्योग बाणिज्य संघको नेतृत्वमा दमक नगरपालिकामा ज्ञापन पत्र बुझाउदै टिपर, ट्याक्ट्रर, ट्रक, टेम्पो, ईरिक्सा लगायतका यातायात ब्यवसायीहरुले पुर्वधार सेवा कर खारेज गर्न माग गरेकाछन् । दमक नगरपालिका कार्यालयबाट असार १ गतेका दिन आ.व. २०७७÷०७८ मा पुर्वाधार सेवा उपभोग गर्ने सवारी धनीहरुले वार्षिक रुपमा पुर्वाधार विकास कर बुझाउन सूचना प्रकाशित गरेको थियो ।
यस क्षेत्रका टिपर, ट्याक्ट्रर, ट्रक, टेम्पो, ईरिक्सा लगायतका उक्त कर लाग्ने सम्बन्धित यातायात व्यवसायीहरु सँगको छलफलबाट यो कर खारेजको माग गर्ने निर्णय भएको हो, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले भने । सवारी साधन खरिद गर्दा कै वखत विभिन्न शिर्षकमा करहरु बुझाई रहँदा पनि दमक नगरपालिकाका तर्फबाट अव्यवहारिक रुपमा असुल गरिरहेको पुर्वाधार सेवा करका कारण यातायात व्यवसायी एवं सवारीधनीहरु मर्कामा पर्न गएकाछन्, उनले भने ।
विभिन्न शिर्षकमा उठाइने यस्ता करले गर्दा व्यवसायीहरु पलायन हुने अवस्था सिर्जना भएकाले हाल उक्त कर नबुझाउने र सो कर पुर्ण रुपमा खारेज गरिनु पर्ने भनी ऐक्यवद्धता जाहेर गरिएकाले पुर्वाधार सेवा कर पुर्ण रुपमा खारेज गर्नका लागि हाम्रो माग हो,श्रेष्ठको भनाइए थियो ।
दमक उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष प्रकाश प्रशाई, बाणिज्य संघका पदाधिकारीहरु तथा यस कर तिर्नु पर्ने यातायात ब्यवसायीहरु लगायत नगरपालिका पुगेर यस बिषयमा ध्यानर्षण गराएका थिए ।
कर तिर्दैनौ भन्नु उपयुक्त होइन-ओली
मागको बिषयमा छलफल गर्ने दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताए । सडक उपभोग गरे वापत लिइने यो कर लामो समयदेखि नै उठाइदै आएको र खारेज हुन्छ भन्ने नसोच्न उनले आग्रह गरेकाछन् । हामी यसलाई छलफल गर्छौ र आवश्यक निर्णयको बिषयमा जानकारी पनि गराउछौ, ओलीले भने ।
