दमक नगरपालिकाले आम्दा अस्पताललाई सामुदायिक अस्पतालको रुपमा विकास गर्ने
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमक नगरपालिकाले दमकस्थित आम्दा अस्पताललाई सामुदायिक अस्पतालको रुपमा विकास गर्ने भएको छ । यसका लागि नगरपालिकाले आँउदो बर्षको नीति तथा कार्यक्रममा सामुदायिक अस्पतालको रुपमा विकास गर्न सहयोग गर्ने उल्लेख रहेको छ ।
सोमबार सातौ नगरसभामा प्रस्ततु आर्थिक बर्ष २०७७ ७८ को नीति तथा कार्यक्रममा यो समावेश भएको हो । आम्दा अस्पताल च्यारिटी अस्पतालको रुपमा सञ्चालनमा रहदै आएकोमा पछिल्लो समयमा आर्थिक रुपमा कमजोर बन्दै गएको थियो ।
समुदायमा आधारित रहेर सेवा प्रदान गर्दै आएपनि यसभन्दा अघि स्थानीय, प्रदेश र संघीय सरकारले आफ्नो योजनामा समावेश गरेको थिएन । दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आम्दा अस्पताल नगरको योजनामा समावेश भएको हो ।
आम्दा अस्पताल दमकलाई दमक नगरपालिका अन्तरगत सामुदायिक अस्पतालको रुपमा विकास गर्न सहयोग गरिनेछ, नीति तथा कार्यक्रममा भनिएको छ । यो पटक आम्दा अस्पतालले पनि सानो भएपनि बजेट पाउन सक्ने समेत देखिएको छ । अस्पतालको ब्यवस्थापन समितिको अध्यक्ष नगर प्रमुख रोमनाथ ओली रहेकाछन् ।
आम्दा अस्पतालले यस क्षेत्रमा आर्थिक रुपमा कमजोर, बेवारिसे तथा नगरपालिकाले सिफारीस गरेका बिरामीहरुलाई निशुल्क रुपमा उपचार गर्दै आएको छ । नगरपालिकाको नीति तथा कार्यक्रममा अस्पताल समेटिएको प्रति अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन ढकालले खुसि प्रकट गरेकाछन् । उनले नगरपालिका तथा जनप्रतिनिधिहरुप्रति आभार पनि प्रकट गरेकाछन् ।
यसैबीच बुटवलमा उपमहानगरपालिकाले यहाँ रहेको आम्दा अस्पताललाई विशिष्टिकृत सिटी अस्पताल बनाउने नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
