२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

विष्णुप्रसाद पोखरेल

दमक । झापाको प्रमुख ब्यापारीक केन्द्रको रुपमा रहेको झापाको बिर्तामोड नगरपालिकाले औद्योगिक प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । नगरपालिकाद्धारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार औद्योगिक प्रशोधन केन्द्र स्थापनाका लागि नेपाल उद्योग बाणिज्य महासंघसंग सम्झौता समेत भइसकेको नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत पशुपतिराज खतिवडाले बताउनु भयो ।

कालो सूनको रुपमा चिनिएको अलैची, नगदेबालि अम्लिसो, अदुवा, चिया लगायतका कृषिजन्य उत्पादनहरु प्रशोधन गरेर भारत लगायत तेश्रो मूलक निर्यातका लागि औधोगिक प्रशोधन केन्द्रको अवधारणा ल्याईएको पनि खतिवडाले जनाउनु भयो । यसलेगर्दा किसान तथा ब्यापारीलाई फाइदा पुग्छ र बिर्तामोडको आर्थिक उन्नतीका लागि समेत टेवा पुग्छ भन्ने ठहर रहेको छ, खतिवडाले भन्नुभयो ।

अधिक माग रहने आलु, राज्मा, सुर्यमुखी, तोरी र फापर गरी जम्मा ५ बालीहरुको बृहद् उत्पादनको लागि बालीमा चक्लाबन्दी खेतीलाई प्रवद्र्धन गरिने समेत नीति लिएको नगरपालिकाले जनाएको छ । यस्ता कृषि उत्पादनमा नगरलाई आत्मनिर्भर बनाउने योजना यस पटक हामीले समावेश गरेका छौ, खतिवडाले जनाउनु भयो ।

कृषिमा पनि नगरपालिकाले निक्कै ध्यान दिएको पाईएको छ । आगामी २ वर्ष भित्रमा नगरक्षेत्र भित्रका सम्पूर्ण कृषि योग्य जमिनलाई सिंचित गरिने नीति तथा कार्यक्रममा उल्लेख रहेको पाईएको छ । नगरक्षेत्र भित्रका सम्पूर्ण कृषियोग्य जमिनहरुलाई सिंचित र उत्पादनहरुको प्रशोधन र बजारीकरण गरिनेछ, नगर उपप्रमुख पवित्रा महतरा प्रशाईले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।