दमकमा रतुवा र मावाको कटानले जोखिम
विष्णुप्रसाद पोखरेल
दमक/ झापाको रतुवा र मावा खोलामा आएको बाढीका कारण बिभिन्न वार्डहरुमा कटान शुरु भएको छ । यसले बाँध भत्काएर खोला गाँउपस्ने खतरा पनि बढेको छ ।
शनिवार रातीदेखि शुरु भएको बाढी आइतवार दिउसोसम्म जारी रहेको थियो । दमक ३ स्थित दुम्से, ढुंगे लगायतको क्षेत्रमा बनाएको बाँध तथा जाली समेत भत्काएर मावा खोलाले त्रास उत्पन्न गराएको छ ।
जाली समेत बगाएको र बिगतमा बनाईएको बाँध नै संकटमा परेको वडा नं. ३ का वडाध्यक्ष नबिन बरालले बताकाछन् । खोलाले कटान रोक्न प्रयास भइरहेको छ ।
आईतवार विहान नगर प्रमुख रोमनाथ ओली, उपप्रमुख गीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिना लगायतले गएर खोलाको निरीक्षण गरेकाछन् । आइतवार विहान खोलाको वहाव धेरै नै बढेपछि स्थानीयहरु त्रसित भएका थिए ।
यता रतुवा खोलामा पनि बाढि आएको छ । बाढिले दमक १ मा कटान तिब्र बनाएको छ । दमक १ स्थित नया बनेको रतुवा पुल नजिकै दक्षिणतर्फ कटान शुरु भएको हो ।
पुल नजिकै केहि समय अघि मापदण्ड बिपरीत खोलाजन्य सामाग्रि झिकिएको थियो । आइतवार साँझसम्म दमककमा बाढीका कारण जनधनको क्षतिको विवरण केहि पनि नआएको जनाईएको छ ।
दिउसोदेखि पानी रोकिएका कारण खोलामा पानीको वहाव कमी भएपछि जनजिवन सामान्य बन्दै गएको पनि बताईन्छ ।
