झापामा २ जना शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि
भद्रपुर । झापामा पहिलो पटक सुरक्षाकर्मीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वी नाका काँकडभिट्टाको होल्डिङ सेन्टर र क्वारेन्टाइनमा खटिएका दुई जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौम्लागाईँले जानकारी दिए । उनका अनुसार २१ र २७ बर्षीयका दुई जना सशस्त्र प्रहरी मेचीनगर नगरपालिका ६ निवासी हुन् ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको उनले बताए । संक्रमण पुष्टि भएका दुवै जनालाई थप उपचारका लागि मोरङको गोठगाउँस्थित कोभिड आइसोलेसन केन्द्र पठाइएको छ । योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ३१८ पुगेको छ । त्यसमध्ये २९८ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
